नीति तथा कार्यक्रममा समावेश विषयलाई बजेटमार्फत सम्बोधन गर्न सरकारलाई सुझाव

डिसी नेपाल
२५ वैशाख २०८२ १६:३४
44
Shares

काठमाडौं। सांसदहरुले नागरिकमा विश्वास पैदा गर्नेगरि नीति तथा कार्यक्रममा समावेश विषयलाई बजेटमार्फत सम्बोधन गर्न सरकारलाई सुझाव दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनीहरुले नीति तथा कार्यक्रम र वार्षिक बजेटबीच समन्वय हुनुपर्ने समेत बताएका छन्।

एमाले सांसद सांसद ठाकुरप्रसाद गैरेले छलफलका क्रममा आएका सुझावहरुलाई समेत समेटेर नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिए। नागरिकका आकांक्षा पूरा गर्न नसक्दा सरकार र व्यवस्थाप्रति प्रश्न उठ्न थालेको भन्दै सांसद गैरेले जनताले राज्यबाट बलियो आड र भरोसा खोजेको बताए। उनले जनताका निराशा चिर्दै नागरिकमा विश्वास पैदा गर्ने गरी सबै एकजुट भएर अघि बढ्न सक्नुपर्ने बताए। उनले संघीयतालाई बलियो बनाउने गरि विभिन्न विधेयकहरुलाई समेत अघि बढाउन सुझाव दिए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संविधान संशोधनका बारेमा नीति तथा कार्यक्रममा ठोस कार्ययोजना प्रस्तुत नगरेको उल्लेख गरे। उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने धारणा राखे। संविधान संशोधन गर्दा महिला, दलितलगायत पछाडि पारिएका वर्ग तथा समुदायको अधिकार सुनिश्चितका साथै खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने उल्लेख गरे।

त्यस्तै माओवादी सांसद महेन्द्र बहादुर शाहीले प्रदेश र स्थानीयको भूमिकाको आधार सरकारको नीति तथा कार्यक्रममा नरहेकाले यसले संघीयतालाई कमजोर बनाउने खतरा बढाएको जिकिर गरे। उत्पादनशील क्षेत्रमा लगानी, रोजगारी सिर्जनाका साथै आयात प्रतिष्थापनका लागि ठोस कार्यक्रमको समेत अभाव देखिएको उहाले बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले विगतमा पटकपटक दोहोरिएका नीति तथा कार्यक्रमका योजनाहरू हालसम्म लागू नभएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *