लघुकथा : लत

भूमिका गैरे तिमिल्सिना
२१ असार २०८२ ७:२७
60
Shares

खुट्टा लर्बराउँदै घरमा छिरेको लोग्नेलाई देखेर स्वास्नीले आक्रोश पोखी, ” हैन, कति खान सकेको हो, यो झोल पनि? लबस्तरोले दिउँसै धोकेर पो मरेछ। छि! कसैले देखेभने नि के भन्लान्? ´’

उसले ठाडै जवाफ दियो, “हैन, खाएँ त आफ्नै बाउको खाएँ। तलाई के को टाउको दुख्यो हँ?´´

सम्झाउने लवजमा ऊ बोली , `घरमा जवान छोरी, बिहेको लायक भाकी छे। उसको मनोविज्ञानमा कस्तो असर पर्ला? अलिकति पनि सोच्नु पर्दैन?´

ऊ दलानमै डङ्ग्रङ्ग लडेर बर्बरायो, `घरमा आयो कि जहिले कचकच मात्रै गर्छे। आउन नि मनै लाग्दैन। के गर्नु?´

`तिम्रो चालामाल देखेर छोरी बाहिर निस्किन पनि मान्न छाडिसकी। बाहिर निस्कियो कि जड्याहाको छोरी भन्छन् रे! घरको इज्जत कहाँ पुगिसक्यो? खान, लाउन पनि मैले नै हाड घोट्नु पर्ने भयो। हरे! मेरो भाग्य! ´ऊ गनगनाउन थाली।

ऊ जुरूक्क उठ्यो र ठूलो स्वर गर्‍याे, `नाथे, त्यसै ठूली भएकी छे। खान , लाउन पाकै छस् क्यारे! तिमीहरुलाई सबै चिज पुर्‍याएकै छु। त्यसै जान्ने हुँदी रहिछे बडा!”

उसले उदास स्वरमा भनी, `कोही माग्न आए भने पनि तपाईंको यो लतले छोरीको विवाहमा वाधा पुर्‍याउँछ कि भनेर अत्यास लागेको छ। आफ्नो जिम्मेवारी त बुझ्नु पर्‍याे नि!´

ऊ जङ्गियो, `अरुका स्वास्नीले लोग्नेलाई कति माया गर्छन्। तँ एउटी चाहिँ मलाई देख्यो कि बिग्रिएको रेडियोझै जतिखेर पनि क्यारक्यार क्यारक्यार गर्न जान्या छेस्। होइन?´

राम काका कराउँदै प्रवेश गरे, `हैन, बाहिरै बसेर जोईपोइ के को गन्थन हो? छोरीलाई केटोको कुरो लिएर म आएको, बिहे गर्ने हो नि? के छ, बिचार?´
उसले आत्तिँदै सोधी, `काका, केटाको रक्सी पिउने लत त छैन नि? अलि राम्रोसँग बुझ्नू है!´


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *