कविता : म युद्धको योङ्का यक्ष हुँ 

तोमनाथ उप्रेती
२८ असार २०८२ ७:०५
32
Shares
म युद्धको योङ्का यक्ष हुँ,
रगतका रेखाहरूमा अक्षर कोर्दै,
काँधमा घाउका गठ्ठा बोकेर
न्यायका निदाएका देवताहरूको ढोका घच्घच्याउँदै।
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ बारुदको ब्रह्मास्त्रले
मानवताको मुटु च्यात्छ,
र म त्यस च्यातिएको मुटुमा पनि
आशाको सानो बत्ती बाल्न खोजिरहेछु।
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ आँसुहरूले कविताका पानाहरू भिजाउँछन्,
र प्रत्येक आँसु, एक अक्षर बन्छ,
जसले इतिहासलाई लेख्न बाध्य पार्छ।
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ कान गुमाउँदा पनि न्यायका करुण क्रन्दन सुन्छु,
जसको शरीरमा खतै खत छन्,
तर ती खतहरू मौन छैनन्,
तिनीहरू शब्द बनेर चिच्याइरहेका छन्-
“न्याय बिना शान्ति हुँदैन!”
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ ज्यानको सट्टा न्याय मागिन्छ,
जहाँ मृत्युको मुखमा बाँच्नु नै विद्रोह हुन्छ,
र लाशहरूका आँखामा अझै सपना पलाइरहेका हुन्छन्।
म युद्धको योङ्का यक्ष हुँ,
जसले आगोको बाछिटामा जीवनको चियो खोजिरहेछ,
जसले विषका भेलमा अमृतको थोपा खोजिरहेछ,
जसले बारुदको बास्नामा पनि करुणाको गन्ध सुँघ्न चाहिरहेछ।
म युद्धको योङ्का यक्ष हुँ,
जहाँ काठका सडकहरूमा हिँड्दै
न्यायका नाममा अन्यायको उत्सव देख्छु,
तर म मौन बस्दिनँ,
म रोइदिन्छु, हाँसिदिन्छु, कराइदिन्छु-
किनकि युद्धमा घाइते घाउहरू कविता बन्न चाहन्छन्।
म युद्धको योङ्का यक्ष हुँ,
तिम्रा सुनिने कान, देखिने आँखा, धड्किने मुटु बन्न
रगतको अक्षरमा न्यायको आह्वान लेख्न
फेरि युद्धको यो रणमैदानमा उभिएको छु।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *