निबन्ध : कर्मयोगीको पदचाप

ज्ञानेन्द्र विवश
१७ साउन २०८२ ७:०२
48
Shares

समयको अनवरत यात्रामा केही व्यक्तित्वहरू यस्ता हुन्छन्, जसको पदचापले समाजमा गहिरो छाप छोड्छ। उनीहरूको कर्म, विचार र व्यवहारले युगौँसम्म समाजलाई प्रेरणा दिइरहन्छ। कर्मयोगी बद्रीविक्रम थापा यस्तै एक प्रकाशपुञ्ज हुनुहुन्थ्यो।

उहाँको १०३ औँ जन्म-स्मृति सभामा सहभागी हुन पाउनु मेरा लागि गौरवको विषय बन्यो। यस्ता आदरणीय कर्मयोगीको पदचापमा एक अविस्मरणीय स्मृतिसभाको सम्झनामा केही शब्द लेख्दैछु।

‘बद्रीबिक्रम राष्ट्र गौरव पुरस्कार’ वितरण समारोहसहितको उक्त कार्यक्रममा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको निम्तो स्वीकार गरी पुग्दा उहाँप्रतिका पुराना सम्झनाहरू मेरो मनमा तरङ्गित भइरहे। विशेषतः उहाँसँगको भेट र भलाकुसारी तथा उहाँले बोल्नुभएको अमर वाणी ! जुन अहिले अब सुन्न सकिँदैन।

कार्यक्रमस्थलमा पुग्दा वातावरण नै एउटा विशेष ऊर्जाले भरिएको थियो। वरिष्ठ संस्कृतिविद तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगलाई ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार’ र समाजसेवी एवं कलाकार उर्मिला उपाध्याय गर्गलाई ‘सेवा पुरस्कार नेपाल’ अर्पण गरिँदा थापाज्यूको कर्मशीलताको प्रतिध्वनि सुनिन्थ्यो।

थापाको जन्म-स्मृति सभामा पुरस्कृत व्यक्तित्वहरू, अतिथिहरूले उहाँको व्यक्तित्वको मुक्तकण्ठले प्रशंसा गरिरहँदा, मेरा मानसपटलमा उहाँसँगको भेटका क्षणहरू चलचित्रझैँ बारम्बार घुमिरहेका थिए।

मलाई झलझली सम्झना आउँछ, थापाज्यूसँग भेट्ने र उहाँको विचार सुन्ने अवसर पाएको त्यो क्षण। उहाँको व्यक्तित्वमा एउटा अलौकिक शान्ति थियो, जसले जो कोहीलाई पनि आकर्षित गथ्र्यो। समाजसेवामा मरिमेटेर लाग्नुहुने बद्रीविक्रम थापाको नरम बोली व्यवहार र सहयोगी भावना मैले त्यो बेला अर्थात् तीन दशकअघि नै गहिरोसँग महसुस गरेको थिएँ।

उहाँका शब्दहरूमा एउटा विशेष जादू थियो, जसले निराशालाई आशामा बदल्न सक्थ्यो। उहाँको हरेक क्रियाकलापमा निःस्वार्थ सेवाभाव झल्किन्थ्यो। समाजको उत्थानका लागि उहाँले गरेका प्रयासहरू, देखाएको समर्पण र त्याग अतुलनीय थियो। उहाँ कुनै पनि काममा सानो वा ठूलो भनी भेद गर्नुहुन्नथ्यो, हरेक कार्यलाई उत्तिकै महत्वका साथ सम्पन्न गर्नुहुन्थ्यो।

थापाज्यूको त्यो मुस्कान, त्यो सहयोगी हात र त्यो प्रेरणादायी व्यक्तित्व आज पनि मेरो मनमा ताजै छ। उहाँको जन्म–स्मृति सभामा भाग लिन पाउँदा मैले उहाँको सम्झनासँगै कर्मयोगी बद्रीविक्रम थापाप्रति हार्दिक श्रद्धा प्रकट गरिरहेँ। यो केवल एक ‘स्मृति सभा’ मात्र थिएन। यो त उहाँले देखाउनुभएको सेवा र समर्पणको बाटोलाई आत्मसात् गर्ने एउटा ‘प्रेरणादायी अवसर’ पनि थियो।

उहाँको जीवनले हामी सबैलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ। जस्तै– ‘वास्तविक सफलता धन र पदमा होइन, समाजका लागि गरिने निःस्वार्थ कर्ममा र मानव सेवामा निहित छ।’

कर्मयोगी बद्रीविक्रम थापाज्यूको नाम र उहाँको कर्म सधैँ हाम्रो हृदयमा अमर रहने छ। यस्ता कर्मयोगीसँगको अविस्मरणीय भेट मेरा निम्ति आज पनि उत्तिकै स्मरणीय र प्रेरणादायी रहेको छ।

जीवनमा केही भेटहरू यस्ता हुन्छन्, जसले हाम्रो मनमा गहिरो छाप छोड्छन् र बद्रीविक्रम थापाज्यूसँगको मेरो भेट पनि त्यस्तै अविस्मरणीय रह्यो। झम्सिखेलस्थित कलाकार उर्मिला उपाध्याय गर्गको ‘सिर्जनात्मक कलागुठी’ मा उहाँलाई भेट्न पुगेको थिएँ। त्यहाँ उपाध्यायले निम्न आय भएका महिला-पुरुषहरूलाई सीप सिकाउँदै हुनुहुन्थ्यो। उर्मिला उपाध्याय आफैँ पनि नेपाली कलाक्षेत्रकी एक अग्रज कलाकार हुनुहुन्थ्यो, जसको काम देखेर म सधैँ प्रभावित थिएँ।

उर्मिला दिदीसँग कुराकानी चलिरहेकै बेला त्यहाँ दौरासुरुवाल, कोट र टोपी लगाउनुभएका एकजना व्यक्ति आउनुभयो। दिदीले उहाँको स्वाग गर्नुभयो। मैले पनि नमस्कारको हात जोडेँ। मेरो परिचय गरी दिदीले मलाई ‘उहाँ कर्मयोगी, समाजसेवी तथा पूर्व कुशल प्रशासक बद्रीविक्रम थापा हुनुहुन्छ।’ भनी चिनारी गराइदिनुभयो।

उहाँलाई देख्नेबित्तिकै मलाई उहाँको मृदु मुस्कान र नरम बोली, व्यवहारले अत्यन्तै आकर्षित ग¥यो। उहाँहरूबीचको हार्दिक मित्रता, सेवाभाव, परोपकार र गरिएका तथा गर्नुपर्ने कामहरूको कुराकानी सुनेर म त्यो बेला नै अत्यन्त प्रभावित भएँ। उहाँहरूको संवादमा समाज सेवाप्रतिको गहिरो समर्पण र निष्ठा झल्किन्थ्यो।

मेरो परिचय थापाज्यूसँग गराइदिनु भएपछि उहाँले मेरो थप परिचय माग्नुभयो। मैले आफ्नो जन्मथलो, पढाइ, अभिरुचि आदिका बारेमा सविस्तार जानकारी गराएँ। मेरो कुरा सुनेर उहाँ गदगद हुनुभयो।

उहाँले भन्नुभयो- ‘तपाईंको जिल्लामा म हिँडेर पुगेको छु। साह्रै रमाइलो ठाउँ छ। म पुग्दा सायद तपाईं जन्मिनुभएको थिएन होला। भोजपुर, खोटाङ, ओखलढुंगा धेरै ठाउँमा पैदलै पुगेको छु।’

उहाँका यी कुराहरूले म उहाँप्रति झन् प्रभावित भएँ। उहाँको अनुभव, विशेषगरी दुर्गम क्षेत्रमा पैदल यात्रा गरेको कुराले मलाई उहाँको लगनशीलता र जनतासँगको प्रत्यक्ष सम्बन्धको झल्को दियो। बडाहाकिम र अञ्चलाधीश भएर देशका विभिन्न दुर्गम गाउँघरमा पुगेको र आफूले सकेको काम गरेको अनुभव उहाँले सुनाउनुभयो।

बद्रीविक्रम थापाज्यूलाई भेट्न पाएर म जति हर्षित थिएँ, उहाँ पनि त्यत्तिकै खुसी हुनुभयो। उहाँको व्यक्तित्वमा एउटा अनुपम सादगी र प्रेरणा थियो। उहाँको जीवनको अनुभव र समाजसेवाप्रतिको निष्ठाले मलाई मात्र होइन, त्यहाँ उपस्थित सबैलाई प्रेरित गर्‍यो।

त्यो भेट एउटा सामान्य भेटघाट मात्र रहेन, यो त एउटा सिक्ने र आत्मिक रूपमा धनी हुने अवसर थियो। उहाँको मृदु मुस्कान र प्रेरणादायी व्यक्तित्व आज पनि मेरो मानसपटलमा ताजै छ। यसले मलाई सधैँ सत्कर्म र सेवाको बाटोमा लाग्न प्रेरित गरिरहन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.