निबन्ध : सम्बन्धहरूको भग्नावशेष
जिन्दगीका केही मोडहरू यस्ता हुन्छन्, जहाँ हामी पछाडि फर्केर हेर्दा केवल भग्नावशेषहरू मात्र देख्छौं। ती भग्नावशेषहरू कुनै पुरानो घरका होइनन्। भूकम्पले थिल्थिलो भएका, बसाई गएर उराठ, उजाड भग्नावशेष बनेका पनि होइनन्।ती सम्बन्धहरूको भग्नावशेष, जसलाई हामीले कुनै समय ठूलो मेहनतले निर्माण गरेका थियौं।
हरेक सम्बन्ध एक नाजुक घरजस्तै हुन्छ। माया र प्रेमको जगमा उभिएको, विश्वासको पर्खालले घेरिएको र एकार्काप्रतिको समर्पणको छतले ढाकिएको। हामी ती घरहरूलाई सजाउँछौँ, रङरोगन लगाउँछौं।
र, आफूलाई त्यहाँ सुरक्षित महसुस गर्छौं। हामी कल्पना गर्छौं। घर सधैंभरि यस्तै रहोस्। आँधीबेहरीले पनि यसलाई केही गर्न नसकोस्। तर, समयको कठोर वास्तविकताले हाम्रो कल्पनामा प्रहार गर्छ। ती सुन्दर घरहरू तासको घरझैँ ढल्न पुग्छन्। त्यसपछि सम्बन्धका भग्नावशेषहरू मात्रै बाँकी रहन्छन्।
यसरी जब सम्बन्धहरू टुट्छन्, तब त्यो केवल एउटा साधारण घटना मात्र रहँदैन। त्यो एक भूकम्पजस्तै हुन्छ। त्यसले हाम्रो मनको जमिनलाई चर्काउँछ। विश्वासका पर्खालहरू ढलाउछ। आशाका झ्यालहरू फुटाउछ र प्रेमको छत भत्किएर मनलाई बिजोग अवस्थामा पुर्याइदिन्छ। धमिलो पानीको आहालमा हामीलाई डुबाइदिन्छ।
सम्बन्धको भग्नावशेषमा हामीले हाम्रा सपनाहरू, हाम्रा खुसी र हाँसोका पलहरू तथा हाम्रा साझा भविष्यका कल्पनाहरूलाई छरिएको पाउँछौँ। ती टुक्रिएका सपनाहरूलाई बटुलेर फेरि जोड्ने प्रयास गर्दा मनमा अझ गहिरो घाउ लाग्छ। त्यो घाउ त निको हुन्छ तर बिर्सिन नसकिने खाटा बसिरहन्छ।
यद्यपि सम्बन्धहरूको भग्नावशेषको सबैभन्दा पीडादायी पक्ष के हो भन्ने कुरा हामीलाई थाहा हुँदैन कि यो कसरी भयो ?
केही सम्बन्धहरू एकै झड्कामा टुट्छन्। तर धेरैजसो बिस्तारै–बिस्तारै कमजोर हुँदै जान्छन्। स-साना गलतफहमीहरू, व्यक्त नगरिएका गुनासाहरू र गुम्सिएर उकुसमुकुस भइरहेका भावनाहरूले सम्बन्धको जगलाई खोक्रो बनाउँछन्। एकदिन जब हामी फर्किएर हेर्छौं, तबसम्ममा ढिलो भइसकेको हुन्छ।
त्यो भग्नावशेषमा उभिएर हामी आफैँसँग प्रश्न गर्छौं, ‘के यो सबै मेरो गल्ती थियो ?’ ‘के म यसलाई बचाउन सक्थें ?’
यी प्रश्नहरूको उत्तर सायद कसैलाई पनि थाहा हुँदैन। किनकि सम्बन्धको अन्त्यमा गल्ती केवल एक व्यक्तिको मात्र हुँदैन। यो एक साझा त्रासदी हो। त्यहाँ दुवै पक्षले आफ्नो केही अंश गुमाउँछन्। विश्वास गुमाउँछन्। माया, ममता र बोलीचाली नै समाप्त हुन पुग्छन्।
परन्तु सम्बन्धहरूको भग्नावशेषले हामीलाई केही महत्वपूर्ण पाठहरू पनि सिकाउँछ। यसले हामीलाई जीवनमा कुनै पनि कुरा स्थायी हुँदैन र सबैभन्दा बलियो सम्बन्ध पनि कमजोर हुन सक्छ भन्ने कुरा सिकाउँछ।
यसले माया र विश्वासलाई सधैंभरि जिउँदो राख्न निरन्तर प्रयास गरिरहनुपर्छ। र, सबैभन्दा महत्वपूर्ण कुरा, यसले भग्नावशेषको बीचमा पनि नयाँ जीवनको सम्भावना लुकेको हुन्छ भन्ने सिकाउँछ।
पुरानो घरको भग्नावशेषमा नयाँ घर बनाउन सकिन्छ। त्यसैगरी टुटेका सम्बन्धहरूको पीडाबाट पनि हामीले आफूलाई अझ बलियो बनाउन सक्छौँ। त्यो भग्नावशेषलाई हामीले आफ्नो अतीतको प्रतीक मानेर त्यहीँ अड्किनुको सट्टा, त्यसलाई एउटा नयाँ सुरुवातको बिन्दु मान्न सक्छौँ। ती भत्किएका पर्खालहरू र टुक्रिएका सपनाहरूबाट पाठ सिकेर हामी अगाडि बढ्न सक्छौँ।
सम्बन्धहरूको भग्नावशेष एक पीडादायी सत्य हो। यो जीवनको एक अपरिहार्य हिस्सा पनि हो। दुःखको पहाडलाई पार गरेर नै हामीले जीवनको वास्तविक सुन्दरतालाई बुझ्न सक्छौं। सायद यही नै हाम्रो यात्राको एक महत्वपूर्ण पाटो हो।
सम्बन्ध भन्नु जीवनको एक अमूल्य उपहार हो। यो त्यस्तो पुल हो, जसले हामीलाई एकापसमा जोड्छ। आपसी सुखदुःखमा बाँधिदिन्छ। यो दुई व्यक्तिबीचको सम्पर्क मात्र नभई, दुई आत्माबीचको गहिरो, अटुट र भावनात्मक बन्धन पनि हो। सम्बन्धको सिलसिला सधैँ सरल, सौम्य र शान्त हुनुपर्छ। यसले जीवनलाई सुन्दर र अर्थपूर्ण बनाउनका लागि प्रेरणा दिइरहनुपर्छ।
सम्बन्धको वास्तविक सौन्दर्य यसको निरन्तर निर्माण र नवीकरणमा लुकेको हुन्छ। यो कुनै भग्नावशेषको टुक्रा होइन। बरु सधैं नयाँ ऊर्जा र मायाले भरिएको एक जीवन्त संरचना हो।
जसरी एउटा घरलाई मजबुत बनाउन निरन्तर हेरचाह चाहिन्छ। त्यसैगरी सम्बन्धलाई पनि अटुट र स्थायी बनाउन निरन्तर संवाद, समझदारी र मायाको आवश्यकता पर्छ। नवीकरणको यही प्रक्रियाले सम्बन्धको मूल्य र महत्वलाई दिगो राख्छ। यसलाई ‘सम्बन्धहीन’ र ‘भग्नाशेष’ अवस्थामा पुग्नबाट जोगाउँछ।
सम्बन्धलाई आकाशको नीलोपनसँग तुलना गर्न सकिन्छ। आकाशको नीलोपन जस्तै सम्बन्ध पनि स्वच्छ, फराकिलो र असीमित हुनुपर्छ। त्यहाँ कुनै स्वार्थ वा संकीर्णपनको बादलले छाया पार्न सक्दैन।
फूलको रङ्गीनपन जस्तै, सम्बन्धमा पनि प्रेम, सम्मान र विश्वासका विभिन्न रङहरू हुनुपर्छ। त्यसले जीवनलाई सुन्दरता र खुसीले भरिदिन्छ। हाँसिलो जीवन जस्तै, सम्बन्ध पनि खुसी, उमङ्ग र सकारात्मक ऊर्जाले ओतप्रोत हुनुपर्छ।
सम्बन्धको अर्को महत्वपूर्ण पक्ष यसको निरन्तरता हो। यसलाई नदीसँग दाँज्दा यो कुरा सही लाग्छ, जो सधैँ गतिशील भइरहन्छ। सम्बन्ध पनि नदीजस्तै कहिल्यै स्थिर हुनु हुँदैन। समयसँगै आउने उतार-चढावलाई पार गर्दै, यो निरन्तर अगाडि बढिरहनुपर्छ। हरेक नयाँ दिन, हरेक नयाँ अनुभवले सम्बन्धमा नयाँ आयाम थप्दै जान्छ।
अन्ततः सम्बन्ध माया जस्तै अनिवार्य जीवनको एक सत्य हो। यो हाम्रो अस्तित्वको अभिन्न अंग हो। मायाबिना जीवन जति अधुरो हुन्छ। सम्बन्धबिना पनि जीवन त्यत्तिकै एक्लो र अर्थहीन हुन्छ। यसैले हामीले सम्बन्धको कदर गर्नुपर्छ। यसलाई जोगाउनुपर्छ र यसलाई सधैँ माया, प्रेम, विश्वास र सम्मानको जगमा खडा राख्नुपर्छ। सम्बन्धले जीवनमा गहिरो प्रभाव पारेपछि जीवन आफैंमा एउटा सुन्दर कविता बन्छ।
वास्तवमा ‘सम्बन्धहीन सम्बन्धहरू’ कहिल्यै पनि दिगो, दरिलो वा भनौं भरपर्दो हुनै सक्दैन। टुटेको, फुटेको छिया–छिया भएको सम्बन्धको भग्नावशेष यही हो। सम्बन्धहरूको भग्नावशेषले सोंचाइको यात्रालाई अवरुद्ध पारिदिन्छ। गन्तव्यको योजनालाई विथोलिदिन्छ।
अन्ततोगत्वा फूलहरू जस्तै निर्दोष, निष्कलंक, सुन्दर, सफा कोही पनि हुन सक्दैन रहेछ। सम्बन्धहरूको भग्नावशेषमा होइन सम्बन्ध र सुगन्धहरूको यथास्थानमै यिनीहरू रहिरहन सक्दा रहेछन्।
















Facebook Comment