निबन्ध : सन्तुष्टिका रङहरू
जीवनको क्यानभासमा सन्तुष्टिका रङहरूले उजाड मौसममा पनि हरियालीको आभास दिन्छ। एकान्तको एक्लो पलमा पनि भेटिएको जस्तै सुखद मिलनको महसुस हुन्छ। पहिल्यै देखिएका, पढिएका, भेटिएका यस्ता अनेकौँ सन्दर्भहरूले मनमा आनन्दको सञ्चार गराउँछ। जीवनको क्यानभासमा पोखिएका सन्तुष्टिको स्वप्निल सौन्दर्यमय रङहरू यिनै र यस्तै हुन्।
चौतारी, बिसौनी, सुस्केरा, घुम्ती, कुइनेटा, संघार आदि जीवन एक यात्रा हुन्। यो यात्रामा अनेक हन्डर, ठक्कर र पीडाका मोडहरू आउँछन्। यी सबै सहनुपर्छ र सहन्छौँ पनि। तर, केही कुराहरू यस्ता हुन्छन् जुन सहनु हुँदैन र सहेर बस्नु पनि हुँदैन। किनभने यही नै जीवनको वास्तविकता हो।
कसैको बेइज्जत, अपमान वा लगाइएका झुटा आरोपहरू जीवनका यस्ता काँडाहरू हुन् जसले हाम्रो कोमल आत्मालाई नै घाउ लगाउँछन्। यस्ता घाउहरूमा पीडा मात्र होइन, स्वाभिमानको चिरा पनि हुन्छ, जसलाई सधैँभरि सहनु आत्मसम्मानको हत्या गर्नु जस्तै हो।
यसरी आत्मसम्मानको जगमा उभिएको जीवनमा यी कुराहरूले ठूलो चोट पु¥याउँछन्। त्यसैले, यस्ता अवस्थामा चुपचाप बस्नु र सहेर रहनु आफैंलाई कमजोर बनाउनु हो। त्यसैले, हामीले यस्ता कुराहरूलाई सच्याउन सक्नुपर्छ। संवादका माध्यमबाट समस्याको समाधान गर्नुपर्छ।
हामीले आफ्नो जीवनलाई यस्तो बनाउन सक्नुपर्छ, जहाँ हरेक पल गर्वले भरिएको होस्। जिन्दगीमा केही यस्ता क्षणहरू कोरिएका होऊन्, जुन सम्झिँदा मन आनन्दले रमाओस्। ती दिनहरूको कुरा गर्दा पनि गर्व लागोस्। चाहे ती दिनहरू कुनै अद्भुत ठाउँको यात्राका पलहरू हुन्, जहाँ हामीले पृथ्वीकै अद्वितीय सौन्दर्यलाई आफ्नै आँखाले देख्न नपाएका हौं।
हाम्रो जीवनको यात्रामा यस्ता क्षणहरू हुन् जसलाई सम्झिँदा हामी गर्वले गद्गद हुन सकौँ। ती दिनहरूको कुरा गर्दा हाम्रो छाती अझ फराकिलो होस्। जीवनको कुनै मोडमा फर्केर हेर्दा विगतका ती सुखद पलहरूले हामीलाई शान्ति र आनन्दको अनुभूति दिलाओस्। चाहे जतिसुकै तनावमा किन नहोस्, ती सुखका क्षणहरूले हामीलाई एक पलको लागि भए पनि सबै दुःख बिर्साइदिउन्। स्वर्गीय सुखका क्षणमा हामीलाई आह्लादित पारिदिउँन्।
कहिलेकाहीँ हामी यस्ता ठाउँमा पुग्छौँ, जहाँको सौन्दर्यलाई शब्दमा व्यक्त गर्न सकिँदैन। त्यस्ता अद्वितीय स्थानहरूमा पाइला टेकेको, आँखाले अप्रतिम सुन्दरतालाई चुमेको र मनले ती दृश्यमा डुबेर रमाइलो गरेको पल सम्झिँदा मनमा खुसीको एउटा लहर उर्लिन्छ।
यस्तो लाग्छ त्यही ठाउँमा बसिरहुँ, ती सुन्दरताहरूलाई हेरिरहुँ, तिनै दृश्यमा आँखा चोबलुँ। तिनै दृश्यलाई आँखाले चुमिरहौँ। ओँठमा मृदु मुस्कानको लेपले हृदयभरिको सारा सन्तुष्टि प्रकट गर्न सकौँ।
हामीलाई बारम्बार लागिरहोस् यस्तो सुन्दर ठाउँबाट फर्किने मन नै नलागोस्। ती दृश्यहरू यति मनमोहक लागुन् कि फर्किने मन नै नहोस्। बस त्यहीँ बसिरहौँ, हेरिरहौँ। तिनै पलहरूले जीवनलाई सुखद सन्तुष्टिको आभास दिऊन्। चाहे जस्तोसुकै तनावमा पनि ती पलहरूले शान्तिको सुस्केरा दिऊन्, जहाँ एकछिनका लागि भए पनि स्वर्गीय सुखको महसुस होस्। त्यही एकछिनको सुखले मीठो अनुभूति सदाका निम्ति प्रदान गरिरहोस्।
यस्तो गर्वको अनुभव यात्रा वा सुन्दर दृश्यहरूमा मात्र हुँदैन। यो मानवीय सम्बन्धहरूमा पनि लुकेको हुन्छ। कुनै मानिससँगको साथ छुटेपछि पनि मनमा गर्वको अनुभूति होस्, कि मैले यस्तो मानिससँग जोडिएर काम गरेको थिएँ वा यस्तो मानिसको साथ पाएको थिएँ।
जीवनमा यस्तो सुन्दर ठाउँमा म पुग्न सकेको थिएँ। त्यसले मलाई जीवनभरिका लागि रङ्गीन क्यानभासमा सन्तुष्टिका इन्द्रेणी सौन्दर्यको लेपन गराइदिएको होस्। कतै एकान्तमा अथवा कुनै हुलमुलमा पनि तिनै सम्झनाले मीठो याद गराइरहोस्।
ती यादहरू यति मीठा होऊन् कि जब हामी ती पलहरूलाई सम्झिन्छौँ। वर्तमानका सारा दुःख र पीडाहरू भुल्न सकियोस्। ती यादहरूले हामीलाई एक्लै हुँदा पनि मुस्कुराउने शक्ति दिऊन्।
यसरी, जीवनको क्यानभासमा हन्डर र पीडाका रङहरू पनि हुन्छन्। तर त्यसैमाथि सन्तुष्टि, गर्व र आनन्दका उज्याला रङहरू पनि भरिएका हुन्छन्।
हामीले आफ्नो जीवनको मूल्य बुझेर गर्व गर्न लायक पलहरू सिर्जना गर्न सकियोस्। अपमानलाई सहनुभन्दा आत्मसम्मानलाई जोगाउनु महत्वपूर्ण हुन्छ। हामी यस्ता मूल्यहरूमाथि उभिन सक्छौँ, मात्र हाम्रो जीवन साँच्चिकै पूर्ण र अर्थपूर्ण बनाउँन लागिरहौँ।
त्यस्तै, मानिसहरूसँगको सम्बन्ध पनि यस्तै मिठो होस्। कुनै मानिससँग छुटेपछि गर्व लागोस् कि मैले यस्तो असल मानिस भेट्ने अवसर पाएँ। यस्तो असल मानिससँग काम गर्ने मौका पाएँ। ती यादहरू यति मीठा होउन् कि वर्तमानको कुनै पनि दुःख वा पीडालाई बिर्साइदिउँन्। सम्झिँदा हामी तिनै दिनतिर फर्किएर पुग्न सकौँ।
यसरी जीवनको अन्तिम चरणमा पुगेर विगतलाई फर्केर हेर्दा आनन्द लागोस्। खुसी होस् कि मैले निकै सुन्दर र स्मरणीय क्षणहरू बिताएँ। मनमा फेरि तिनै दिनहरूतिर फर्किने चाहना होस्। ती दिनसँग मेरो गुनासो छैन। कुनै पछुतो पनि छैन।
मनमा लागिरहोस्- दुई दिनको जिन्दगीमा मैले अफसोस मान्नुपर्ने कुनै काम गरिनँ। बरु खुसीले आफैँलाई फुरुङ्ग पार्ने सम्झनाहरू आइरहुन्।
हामीले कहिल्यै पनि कसैलाई चोट पु¥याएको वा दुःख दिएकोमा अफसोस नगरौं। कसैप्रति बेइमान, अपमान र अपशब्द प्रयोग नगरेको कुराले मन हलुका होस्। बरु, सकेको सहयोग, सद्भाव र शुभेच्छाले कसैलाई केही गुन लगाएको कुरा सम्झेर मन गर्वले भरियोस्। घमण्ड होइन, विनम्रता जागोस्। फेरि-फेरि पनि सहयोग गर्ने रहर पलाइरहोस्।
जो र जसप्रति हामीले सकेको सहयोग गर्यौं। आवश्यक मद्दत गर्यौं। र, मद्दत पनि लियौँ। तिनका प्रति कृतज्ञताको शब्द ज्ञापन गर्न कन्जुस्याँइ नगरौँ। बरु भनौं- मैले केही गर्न नसकेकोमा क्षमा चाहन्छु। तपाईको कोमल मुटुमा कुनै दिन बिझाउन पुगेँ भने क्षमादान दिनुहोला।
कसैको ऋण, कसैको गुन सित्तैमा खाएर मर्न नपरोस्। ‘गुन’ को बदलामा ‘बैगुन’ होइन ‘गुन’ ले नै तिर्न सकियोस्। यस्तो भावना र चाहना मनमा सधैं रहिरहोस्। यस्तै सद्गुणहरूले भरिएको जीवन नै सुखद र सन्तुष्टिको सही अर्थमा रूपान्तरण हुन्छ। जीवनको क्यानभासमा सन्तुष्टिका रङहरू त्यहाँ पोखिएका हुन्छन्। यसरी पोखिएका रङहरूमा निर्माण भएका आकृति जीवनमय सौन्दर्यमा सम्प्रेषित हुन्छन्।
















Facebook Comment