कामपाबाट २०४ जना विपन्न, असहायले लिए निःशुल्क सेवा

डिसी नेपाल
१७ भदौ २०८२ २३:१८
8
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट अहिलेसम्मा २०४ जनाले सेवा लिएका छन्।

उक्त सेवा २०८० फागुन १ गतेदेखि सञ्चालनमा ल्याएको हो। सेवा लिनेमध्ये सेवा लिनेमध्ये सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिएका हुन्। यसमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्तथैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटीको शल्यक्रिया रहेको कामपाले जानकारी दिएको छ।

कामपाका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोग रहेका छन्। सात जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायुको, १३ जनाले श्वासप्रश्वाशसम्बन्धी, १२ जनाले मूत्र प्रणाली तथा पिसाबसम्बन्धी समस्यामा सेवा लिएका छन्।

सेवा दिनेमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले सेवा लिएका छन्। काठमाडौं मेडिकल कलेजबाट १९ जना, काठमाडौं मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जनाले, पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट नौ जनाले सेवा लिनुभएको श्रेष्ठले जानकारी दिए।

सेवाप्राप्त गर्ने लाभग्राहीलाई प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले सेवा लिएका छन्। यस्तै गण्डकी प्रदेशका ३२ जनाले, कोशी प्रदेशका २७ जना, मधेस प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूरपश्चिम प्रदेशका १५ जना बिरामीले सेवा लिएका छन्। यो करिब रु ७४ लाख १६ हजार उपचार सेवा हो।

लक्षित वर्गलाई निःशुल्क उपचार गराउनुपर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा नआएपछि कामपाले अनिवार्य गराएको थियो। यसलाई कार्यान्वयन गराउन कामपाले लक्षित वर्गको उपचार गराउनेसम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फतसेवा प्रारम्भ गरेको हो। यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० श्यया कामपाको यस प्रणालीमा आबद्ध भएका छन्।

यस सेवासम्बन्धी थप जानकारीका लिन कामपाको निःशुल्क कल सेन्टर ११८० मा फोन गर्न सकिने बताइएको छ। बिरामीले सेवा लिने प्रक्रिया तथा आवश्यक कागजात, कुन अस्पतालमा कुन सेवा उपलब्ध छ, उपचारका लागि अस्पतालअनुसार श्यया खाली छ वा छैन विवरण आवश्यकताअनुसार बुझ्न पनि सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.