निबन्ध : जीवन अमृत हो
जीवन अमृत हो। जीवन अवसर हो। जीवन प्रेम हो। जीवन माया, ममता, संघर्ष, सपना र सौन्दर्य सबै हो। जीवन रोग पनि हो। जीवन चोट र खोट पनि हो। जीवन दोष र निर्दोष पनि हो। आफैँलाई बुझ्न नसकेर हैरान हुँदै अरूलाई बुझ्ने कोसिसमा जीवन।
जीवन, आफ्नै अर्थ खोजिरहने एउटा यात्राजस्तो पनि हो। कहिले बगिरहेको खोलाजस्तो चञ्चल, कहिले मौन पोखरीजस्तो शान्त। यसलाई जसरी बुझिन्छ, त्यसै अनुसार यसको स्वाद बदलिन्छ। तर जीवनको वास्तविकता भने अमृत नै हो-अवसर, सौन्दर्य र सुवासले भरिएको अमृत।
प्रत्येक बिहान नयाँ पाना पल्टिने एउटा किताब हो जीवन। हरेक दिन हामीलाई एउटा अवसर दिन्छ-कहिले गल्ती सच्याउने, कहिले नयाँ बाटो रोज्ने, कहिले हाँस्दै आफ्नो दुःख भुल्ने।
जीवनले नदिएका अवसर छैनन्, हामीले चिनेका मात्र छैनौँ। पर्खिन सक्ने धैर्यमा, प्रयास गर्न सक्ने साहसमा, अनि हार स्वीकार्ने विनम्रतामा नै जीवनको अवसर खुल्छ। हामीले यही अवसरको सही सदुपयोग गर्न सक्दा नै जीवन अमृत बनेर जीवन्त बाँच्छ।
जीवन सौन्दर्य पनि हो। सौन्दर्य केवल फूलको रङमा मात्र छैन, आँसु टल्पल हुने निराश आँखामा पनि सौन्दर्य हुन्छ। शिशुको हाँसोमा मात्र होइन, वृद्धको मौन सन्तोषमा पनि सौन्दर्य हुन्छ। पक्कै, दुःख पनि जीवनको रङ हो- कालो रङ। तर यही कालोले अरू सबै रङलाई निखार्छ। जीवनको सौन्दर्य त विविधताको मेल हो, पीडा र आनन्दको समायोजन हो।
हामीले बोलेको मीठो शब्द, देखाएको दया, बाँडिएको मुस्कान- यी नै जीवनका सुवास हुन्। सुवास रहनुको अर्थ अरूको जीवनमा पनि आफ्नोपनको चिन्ह छोड्नु हो। कसैको सहयोग गर्दा, कसैलाई माया दिँदा वा कसैलाई क्षमा गर्दा–जीवनले अमर सुवास फैलाउँछ। त्यो सुवास भन्नु पनि वास्तवमा अमृत समान जीवनकै विम्ब हो।
अपितु, जीवन विषाद होइन। जीवन खराब हुँदैन। दुःख आउँछन्, छायाँझैँ लाग्छन्। तर जीवनको परिभाषा दुःख मात्र होइन। जीवनलाई विषादमा सीमित गर्नु भनेको सुन्दर बगैँचामा आँखा बन्द गर्नु जस्तै हो। आँखा खोलेर आनन्दले सौन्दर्य पान गर्न सक्नुपर्छ। यसले जीवनलाई स्वस्थ राख्न पनि मद्दत गर्छ।
त्यसैगरी जीवन विचरा पनि होइन। कसैको माया र दयामा मरिहत्ते गर्ने होइन। संघर्षले हामीलाई झुकाउँछ, तर भाँच्दैन। आकाशमा उड्ने चराले आँधीलाई बेहोर्छ, तर उड्न छोड्दैन। त्यसरी नै, जीवनलाई बिचरा ठान्नु भनेको आफ्नै सामथ्र्यलाई नदेख्नु हो। हामीले हाम्रो शक्ति थाहा पाउनुपर्छ। हामीले हाम्रो क्षमता बुझ्नुपर्छ।
जीवन बर्बादी पनि होइन। यदि हामीले प्रेम गर्न जाने छौँ भने, संघर्ष गर्न सकेछौँ भने र मित्रता गर्न भ्याएछौँ भने- जीवन सधैँ अर्थपूर्ण हुन्छ। त्यसले बर्बादी हुनबाट बचाएर हामीलाई उचाइतिर लैजान्छ।
संघर्ष जीवनको तितेपातीजस्तो हो- चपाउँदा मुखै बिग्रिने हुन्छ। तर पेटको रोगलाई निको पार्ने शक्ति यसले दिन्छ। संघर्षबिना जीवन अधूरो हुन्छ। बगैँचामा काँडा नभएको भए फूलको मूल्य कहाँ बुझिन्थ्यो ? त्यसरी नै संघर्षले जीवनलाई मौलिक र गहिरो बनाउँछ। विना संघर्ष लक्ष्यमा पुग्न सकिँदैन। कठिन संघर्षपश्चात नै सफलताले चुम्न आउँछ।
मित्रता र जीवन एकअर्काको पर्याय हुन्। मित्रताबिनाको जीवन सुखद र सुन्दर हुन सक्दैन। मित्रताले जीवनलाई ताजापन प्रदान गर्छ। मित्रता वसन्तमा फुलेको गुलाफजस्तै हो- सुगन्धमय, आत्मालाई हल्का बनाउने। हाँसोमा मात्र होइन, आँसुलाई पुछ्ने हातमा पनि मित्रता हुन्छ। जीवनको बाटो कठिन भए पनि मित्रताको संगतले त्यो बाटो सजिलो बनाइदिन्छ।
प्रेम र जीवनको गहिरो सम्बन्धले पनि जीवनमा सुन्दर पल भित्रिन्छ। प्रेम जीवनको शाश्वत धड्कन हो। प्रेममा आत्मा खुल्छ। आत्मा फूलझैँ फुल्छ। प्रेमले जीवनलाई अर्थ दिन्छ- अन्धकारलाई उज्यालो, मौनतालाई संगीत र शून्यतालाई पूर्णता बनाउँछ।प्रेममा जीवनको सबैभन्दा ठूलो अमृत लुकेकोहुन्छ।
अन्ततः जीवनलाई हेर्ने दृष्टि नै सबैभन्दा ठूलो चमत्कार हो। यदि हामीले जीवनलाई अमृतका थोपाझैँ चाख्न सक्यौँ भने- संघर्ष पनि प्रेरणा बन्छ। मित्रता पनि आधार बन्छ। प्रेम पनि अनन्त सुवास बन्छ। अनि जीवन, साँच्चै, अमृत बन्छ।
















Facebook Comment