हेटौंडामा खसी-बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

डिसी नेपाल
१० असोज २०८२ ७:२७
64
Shares

हेटौंडा। दशैं नजिकिँदै गर्दा मकवानपुरको हेटौंडामा रहेको खसी बजारमा मूल्य आकासिँदै गएको छ भने माग भने विगतका वर्षको तुलनामा कम देखिएको छ। व्यापारीहरूले तोकेको मूल्यभन्दा दोब्बरमा खसी बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ।

दसैँ सुरु भए पनि हेटौंडा बजारमा खसीबोकाको माग धेरै बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ। मकवानपुरका गाउँगाउँमा तथा हेटौंडा बजार क्षेत्रका बसपार्क, चौकिटोललगायत स्थानमा राखिएका खसीबोकामा पनि पहिलेका जस्ता उत्साहजनक किनबेच हुन सकेको छैन। खसी बोकाको व्यापार गर्दै आएका स्याम यादवका अनुसार चाडपर्व नजिकिँदा पनि सोचे जस्तो कारोबार हुन नसकेको हो।

व्यवसायीहरूले खसी-बोकाको मूल्य गत वर्षकै हाराहारीमा रहेको बताएका छन्। हेटौंडा बजारका पसलमा खसीको मासु प्रतिकेजी एक हजार रूपैयाँमा बिक्री भइरहेको छ भने दसैंका लागि हेटौंडाबाट काठमाडौं शहरमा खसीबोका पठाइने क्रम पनि चलिरहेको छ।

मकवानपुरका किसानहरूले दसैंका लागि बिक्रीमा राखिएका खसीबोकाको उचित मूल्य नपाएको गुनासो गरेका छन्। मकवानपुरगढीका किसान स्याम तिमल्सिनाका अनुसार माग कम र मूल्य पनि खासै बढ्न नसक्दा बिक्रीमा समस्या भएको छ।

यससँगै उपभोक्ताहरूले स्थानीय प्रशासनलाई बजार अनुगमन गर्न र मूल्य नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.