मौसम महाशाखाको विशेष बुलेटिन : देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

डिसी नेपाल
१० कार्तिक २०८२ १२:५६
180
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

आज रातिदेखि बुधबार (कात्तिक १२) बिहानसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।

यो अवधिमा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा पनि हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले सोमबार मध्याह्न जारी विशेष मौसम बुलेटिन अनुसार गण्डकीका उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

हाल देशमा पश्चिमी वायुका साथै अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ।

यस प्रणालीले मिति २०८२–०७–१० गते रातिदेखि मिति २०८२–०७–१२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षा गराउने सम्भावना रहेको महाशाखाको भनाइ छ। गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। ‘सम्भावित हिमपात/वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *