पुस्तक वार्ता

निबन्ध विधामा ‘तेस्रो ऐरा’ विकास गरेभन्दा गहन जिम्मेवारी बोध भएको छ : गोपी मैनाली

गोपी मैनाली
२२ कार्तिक २०८२ ७:१२
124
Shares

बरिष्ठ साहित्यकार गोपी मैनालीले नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका छन्। उनी कुसल पूर्वप्रशासक पनि हुन्। नेपाल सरकारको सचिव जस्तो उच्च जिम्मेवारीमा रहेर काम गरिसकेका मैनालीले सेवा निवृत्तपछिको जीवनलाई अध्ययन र अध्यापनमा झनै सक्रिय तुल्याएका छन्।

तीन समालोचना, चारवटा निबन्ध र एक संस्मरणात्मक सङ्ग्रह प्रकाशित गरिसकेका मैनालीको ‘अक्षरको मन’ शीर्षक निबन्ध सङ्ग्रह कृतिका हिसावले नवौं, सिर्जनात्मक कृतिका हिसावले पाँचौँ र नैबान्धिक कृतिकै हिसावले पनि चौथो कृति हो।

लेखनमा पछि परेका विधामध्ये पहिलोमा नाटक र दोस्रोमा निबन्ध नै हो। निबन्ध विधालाई अगाडि बढाउन मैनाली सक्रिय छन्। त्यति मात्र होइन, मैनालीका निबन्धमा पाइने विचार, भाव, दर्शन र प्रस्तुतिको विशिष्टताका आधारमा लक्ष्मप्रसाद देवकोटा र शंकर लामिछाने पछि तेस्रो शीर्ष स्थान लिन सफल भएका छन्।

निजात्मक आत्मपरक निवन्धमा मैनालीको स्वच्छन्दता र स्वाद निकै बेग्लो छ, त्यहाभित्रको दृष्टिकोण र खदिला विचारले निवन्ध कस्तो हुनुपर्छ भन्ने मानक पनि खडा गर्न पुग्छ। उनको पहिलो निबन्ध अवसाद अभिनयी (२०४०) हो। अपेक्षा र अनुभूति (२०७४), घाउ आफैँलाई दुख्छ (२०७८), अक्षरको मन (२०८२) निबन्ध कृति हुन्।

आँखाभरि रमिता मनभरि बेदना (२०६३), अष्ट्रेलिया-न्यूजिल्याण्डको यात्रा र प्रिन्सेस क्रुजको सानो विश्वका धाराबाहिक प्रकाशन (२०८०) निायात्रा निबन्ध हुन्। मैनाली ओजस्वी साहित्य लेख्छन्, आत्मिक साहित्य लेख्छन् र लेख्दा अनौठो प्रस्तुति वैशिष्ट्य हुन्छ। त्यसैले उनी बौद्धिक जगतमा सुपरिचित छन्। आज मैनालीसँग उनको निबन्ध संग्रह अक्षरको मनमा केन्द्रित रहेर डिसी नेपालका लागि यज्ञराज जोशीले संवाद गरेका छन्।

अक्षरको मनमा साहित्यकार गोपी मैनालीको मन कसरी घुलित हुन्छ?

मैले सानै समयदेखि अक्षरसँग खेल्ने, कथा, कविता, निवन्धहरू लेख्ने, नियात्रा लेख्ने गर्थे। सानोमा म कविता र निबन्धमा रमाउथे।२०३८ सालमा फुटकर रुपमा व्यथा पत्रिकामा निजात्मक निबन्ध लेर्खे, आकार पत्रिकामा कथा र कविताहरु प्रकाशित गरेँ। त्यसपछि व्यथा पत्रिकाले पूर्णक दिएर मेरो निबन्ध २०३८ मा प्रकाशित गर्‍याे।

यो नै मेरो पहिलो प्रकाशित कति हो। सरकारी सेवामा प्रवेश गरेपछि त्यो लेखनी मेरो अली कम भयो। कार्यालयको कामको भार र सेवाप्रतिको कत्र्तव्यका कारण पनि लेखेका कृतिहरु प्काशन गर्न अलि ढिला गरेँ।

देशका डाडाकाँडा, पाखा पखेरामा जागिरको क्रममा जाँदा र कार्यालयमा सेवाग्राहीसंग काम गर्दा मानवीय संवेदनाका आधारमा द्रवित हुन्थे, हरेक कुरालाई गहिरिएर हेर्थे। सवैतिर नेपाली संस्कृति, जनजीवन र मानवीय चेहरा देख्न थाले। सेवा निवृत्त भइसकेपछि मैले अक्षरभित्र मान्छे खोज्न थालेँ। अक्षर भनेको मन्त्र र सुत्र हो।

अक्षरभित्र अर्थ मात्र हुँदैन, कतिपय बताउन नसक्ने कुरा पनि अक्षरमा रहेको हुन्छ। त्यसैले अक्षरलाई एउटा शब्द, एउटा सन्दर्भ, आनि संवेदनाका स्पन्दन, एउटा मन्त्र र अक्षरलाई एउटा जीवनको रुपमा मैले हेर्न चाहेँ। त्यो हेर्न चाहने क्रममा जीवनका विभिन्न क्रममा घटेका घटनाहरूलाई पत्रको रुपमा मैले उल्लेख गरिनँ।

पात्रको रुपमा उल्लेख गरेको भए कथा बन्थ्यो। तर, त्यसले तत्काल मलाई कसरी स्ट्राइक गर्‍यो भन्ने कुरा हो। कथा, कविता मनबाट आउँछन्। तर, निबन्ध मैले मष्तिष्कबाट लेखेको छु। मैले निबन्ध लेख्दा मष्तिष्कबाट मनसम्म यात्रा गरेको छु।

मष्तिष्कले मनसम्म यात्रा गर्दा कस्तो अनुभूति मैले प्राप्त गरेँ भन्ने विषयमा मैले अक्षरको मन, घाउ आफैँलाई दुख्छ, अपेक्षा र अनुभूति, अवसाद अभिनय जस्ता निबन्ध संग्रह प्रकाशित गरिसकेको छु। मैले अवसाद अभिनय सानै हुँदा प्रकाशन गरेको कृति हो। अहिले अक्षरको मन शीर्षक राखेर यो कृति प्रकाशन गरेको हुँ।

तपाईंले साहित्यका अन्य विधामा कलम चलाउने भए पनि निबन्धमा बढी कलम चलाएको पाउँछौं। तपाईंको निबन्धसँगको सामीप्यता, सानिध्यता के हो?

निबन्ध साहित्यका अरु विधाभन्दा स्वायत्तता प्राप्त विधा हो। लेखकीय स्वायत्तता र निजत्वको प्रस्तुतिको लागि निबन्ध अन्यविधा भन्दा आत्मीय विधा हो भन्ने मलाई लाग्छ। कविता लेख्दा छन्दमा लेख्नुपर्छ, कविताका विभिन्न भाव हुन्छन्। त्यसलाई शिल्प संयोजनले बाध्नुपर्छ।

मुक्तक वा गजल लेख्दा पनि केही विधान हुन्छ। कथालाई त झन घटना र पात्रले बाँधेको हुन्छ। निबन्धमा अली सजिलो रुपमा निबन्धकारले आफूलाई व्यक्त गर्न सक्छ। मैले स्वच्छन्दतावादी निबन्ध लेख्छु। आत्मपरक निबन्ध बढी लेख्छु। त्यहाँ भावको विषयवस्तु हुन्छ।

जे कुरा मनमा आयो त्यो स्वाभाविक रुपमा बेक्त गर्नका लागि मलाई सजिलो हुन्छ। त्यसैले म निबन्ध लेख्न बढी मन पराउँछु। नेपालमा निबन्ध विधाको खडेरी पनि छ। व्यक्तिहरू धेरैले निबन्ध लेख्छन्। तर, निबन्धको शुद्धता कायम भएको छैन।

नियात्रालाई पनि निबन्ध, पत्रकारिताको स्टोरीलाई पनि निबन्ध, विभिन्न प्रकारको संस्मरणलाई पनि निबन्ध, जीवनी र आत्मकथालाई पनि निबन्ध भन्न थालिएको छ। गद्यकारिताको विषयवस्तुहरू जहाँ कथानक छैन त्यो सबै निबन्ध भन्ने विषयमा हामी पुगेका छौं। यसले गर्दा विधागत शुद्धता पनि कायम छैन।

निबन्धको आत्मिक शैर्य स्वामित्त्व पनि क्रमश: घट्दै गएको छ। पहिला लक्ष्मीप्रसाद देवकोटाले निबन्ध लेख्दा थुप्रै राम्रो कु्रा पाउथ्यौं। अहिले निबन्धमा त्यो गाम्भीर्यता छैन। यो मेरो चाखको विषय हो। त्यसमा पनि निवन्धमा खडेरी परेको अवस्था छ। त्यसैले मलाई स्वाभाविक रुपमा निबन्धमा लागौं, निबन्धमा अली बढी योगदान गरौं भन्ने लागेको हो।

निबन्धमा आत्मिक ऊर्जा र रस भर्न के गर्नुपर्छ?

पछिल्लो समय नेपाली साहित्यको लेखनी सतही र बेरसीलो हुँदै गएको आम पाठकको गुनासो सुनिन्छ। हाम्रो साहित्य पछिल्लो समय किन फिक्का र सतही हुँदै गएको होला? सबै व्यक्ति र श्रष्ठाहरूलाई आफूलाई राम्रो लेख्न मन छ। उहाँहरूले राम्रो गर्नु हुन्छ। लेख्ने हुटहुटी छ।

तर, भित्रबाट प्रतिभा फुर्नेभन्दा पनि उहाँहरू जबरजस्त लेख्नुहुन्छ। उहाँहरू अभ्यासिक रुपमा लेख्नुहुन्छ, अलिकति विषयवस्तु डोर्‍याउनु हुन्छ। उहाँहरू निबन्ध भनेर प्रवन्ध लेख्नुहुन्छ। व्यवस्थापकीय लेख लेख्नुहुन्छ। कुनै घटनाको विवरण लेख्नुहुन्छ। यसो हुँदा निबन्धमा स्वाभाविक रस भरिन पाएन।

भर्जिनीय उल्फको जस्तो हार्दिककता भएमा निबन्धको रस भरिन्छ, बर्टेन्ड रस्सेलको जस्तो विचार भएमा निबन्ध भरिलो हुन्छ, आशो वा कृष्णमूतिेको जस्तो चिन्तन, देवकोटाको जस्तो आत्मिक उत्सर्गको स्वच्छान्दता र शंकर लामछानेको जसतो घनत्व भएमा निबन्ध रस भरिन्छ। वाह निबन्ध त त्यो हो नि।

देवकोटा सानो विषयवस्तुलाई प्रतिक बनाएर परसम्म पुग्नुहुन्थ्यो, फेरी विषयवस्तुमा फर्किनु हुन्थ्यो। हामीले पछिल्लो समय त्यस्तो साहित्य जन्माउन सकेनौं। लेख्ने हुटहुटी सबैमा भयो, चाहनु भो। तर, लेख्न चाहेको विषयवस्तुलाई उहाँहरूले आफ्नो अपनत्वमा ग्रहण नै गर्न सक्नु भएन। लेख्दा पनि कतिबेला लेख्ने भन्ने कुरामा ध्यान दिनुपर्छ।

लेख्ने विषयले कुनै बेला दिमागमा स्ट्रोक दिन्छ। त्यो समयमा उसले तहल्का मच्चाउँछ। हरेक निबन्धले दिमागी तरंगलाई तरंगित बनाएर मनसम्म पुर्‍याएर परिवेससम्म छचल्क्याइदिएपछि शक्तिशाली निबन्ध बन्छ। त्यस्तो गर्न सके मात्र अक्षरले शक्ति पाउँछ। त्यस्ता लेखक नेपालमा थोरै छन्। निबन्धमा स्वाभाविकता, स्वच्छन्दता र आत्मिक पन, आत्मिक शौर्य अली पर पुगेको छ।

समुद्रको छाल जसरी लहरिन्छ र मानिसको हृदय छुन्छ, हाम्रो साहित्यका छाल त्यसरी मान्छेका मनसम्म पुग्न सकेका छैनन् भन्न खोज्नु भएको हो?

कथाको हार्दिक पक्षमा घटना विधान, रचना गर्भ हुन्छ। तर, निबन्ध स्वाभाविक रुपमा जतिबेला मनमा स्फुटित हुन्छ, त्यसलाई हामीले घ्वाप्पै घोप्ट्याउन सक्नुपर्छ। त्यो पोख्दा बाँध बाँध्नु हुँदैन, यस्तो गर्न पाए हुन्थ्यो भनेर फुलबुट्टा भर्न थाल्छौं। त्यसले निबन्धको आत्मत्व हरण गर्छ।

त्यसैले पहाडबाट छङछङ झरेको झरना जस्तो, त्यो सम्म ठाउँमा पुग्दा सौम्यरुपमा गहिरिए बगे जस्तो गरी निबन्धको बहाब बग्न सक्नुपर्छ। हरेक निबन्धका अभिव्यक्ति कवितात्मक हुनुपर्छ। गद्य छन्दकारिता त्यहाँ देखिनुपर्छ। यस्तो कुरा देखिन नसक्दा निबन्धले क्रमिकरुपमा जीवन नपाएको पाइन्छ।

तपाईंका निबन्ध पात्र र परिवेस प्रधान हुन्छन्। ती निवन्धमा जीवन्तता हुन्छ। ती पात्रलाई कहिलेदेखि हृदयमा संहाली राख्नु भएको थियो। र, अहिले सेवा निवृत्त पछिको जीवनमा ती पात्रलाई न्याय दिइराख्नु भएको छ। थोरै आफ्नो लेखनीबारे बताइदिनुहोस् !

मेरा पात्र मेरै परिवेश र मानिसहरु हुन्। मेरो विश्रृंखलीत सपना कथा संग्रहमा त्यस्ता पात्र छन्। तर, निबन्धमा कथानक हुँदैन। त्यही घटना र त्यसले सिर्जना गरेका तरंगहरुहरु, अनुभूतिहरु र भावको छचल्काइ अनि त्यसबाट निस्किएको विचार निबन्धमा लेख्छु। त्योती भावधारालाई तत्काल लेख्छु।

अर्कोदिन टिप्दा कृतिमता आउँछ। मेरा निबन्ध छोटा हुन्छन्। त्यो निबन्धमा जीवन पसेमा मिठास थपिन्छ। भावनाका छालभित्र प्राण भर्न सकेमा त्यो सर्वोत्कृष्ठ बन्छ। मनलाई गम्भीर बनाउने र मथिंगल मथ्ने निबन्ध लेख्नुपर्छ। यसका लागि बयक्तिक प्रत्रा र अन्तस्चेतले तेस्रो विश्व देख्नुपर्छ। हार्दिकताको विषयमा तपाईंले भने झैँ जानुपर्छ। खास विषयमा विचार र भाव रहेमा मनसँगै मष्तिष्कको दूरी घटाउने काम गर्छ।

तपाईंको यो कृतिमा थुप्रै व्यक्तिले गहन समीक्षा गर्नुभा’छ। केही समालोचकले देवकोटा र लामिछाने पछि तपाईलाई भेट्नै निबन्धशिल्पी छैन भनेका छन्। केहीले मैनाली एरा शुरु भयो भनेका छन्। ती समीक्षाले यहाँलाई कत्तिको जिम्मेवार बोध गराएको छ?

उहाँहरूले दिनुभएको दृष्टीकोण र दृष्टिभावप्रति म नमन गर्छु। कतिपय व्यक्तिहरूले मलाई प्रोत्साहन पनि दिनु भएको होला। कतिपय व्यक्तिले आलोचना पनि गर्नु भएको होला। यसले मलाई अझ बढी परिष्कृत हुन्, अझ बढी ऊर्जा पाल्न, प्रोत्साहित हुन प्रेरणा दिन्छ।

मैले त्यसरी नै जिम्मेवारी बोधका रुपमा लिएको छु। महेश प्रसाईंले मेरा निबन्ध पढेर मैनाली एरा परारम्भ भएको अनुभूत गरेको छु भन्नु भयो। लक्ष्मीप्रसाद देवकोटा र शंकर लामीछाने गरेर दुई एरा थियो नेपालको निबन्ध क्षेत्रमा।

उहाँले तेस्रो एरा प्रारम्भ भएको भन्दै चर्चा गर्नुभएको विषयले मलाई गहन जिम्मेवारी दिएको छ। मैले उत्कृष्ठ निबन्ध लेख्न सकिन र मेरो निबन्ध राम्रो भएन भने उहाँले मेरो लेखनीप्रति गरेको टिप्पणी फेक हुन सक्छ। त्यसैले मलाई थप जिम्मेवार हुन, थप परिष्कृत हुन, जीवनबोध भएका निबन्ध दिन उहाँहरूले ऊर्जा दिनु भएको अनुभूति मलाई भएको छ।

पछिल्लो पुस्ता साहित्यप्रति आकर्षित देखिँदैन, लेखिने साहित्य पनि हलुका हुँदै गएको छ। तपाईंलाई युवा पुस्तालाई आकर्षित गर्दै ओजिलो साहित्य लेख्न कसको भूमिका के हुनुपर्छ लाग्छ?

पाठक घटेका होइनन्। पछिल्लो समय लामो साहित्य पाठक पढ्न चाहदैनन्। मन खिच्ने खालको विषयवस्तु लेख्यो भने पढ्न चाहन्छन्। यस वर्षको नोबेल पुरस्कार क्रान्जा होर्काइ भन्ने हंगेरियन लेखकले पाउनु भयो। उहाँको कथा दुई पेजको एक सेन्टेन्स छ। त्यहाँ जटिल शब्द प्रयोग गर्नु भएको छ।

तै त्यहाँभित्रको भाव, विचार एकदम गहन भएकाले मानिसले पढे। त्यसैले पाठकलाई पढ्न मन लाग्ने बनाउने काम लेखकको हो। लेखकले भाषा, भाव र बहावमा ध्यान दिनुपर्छ। साहित्य रहरले लेखिनु हुँदैन, पाठकको मनलाई छुने खालको लेख्नुपर्छ। लेख्नु कुरा प्रख्यातिको भोक र रहरभन्दा बेगल हो भन्ने मलाई लाग्छ।

यो सीमा माथि गएका स्रष्टाहरु अहिले पनि पढिएका छन्। पुरस्कार पाएका, पहिचानको प्रायोजन भएका वा समूहले च्यापेका लेखकहरु आँखाका तिरिमिर हुन्। पाठक नजन्माउने, विचार र दृष्टिकोण नदिने लेखक धेरै भएपछि अक्षर लेपखए पनि सिर्जना हुँदैन र साहित्यबाट समाज असंलग्न हुन थाल्छ। समाज र पाठकले पढ्ने सिर्जना चाहिन्छ।

तपाईं नेपालमा पठन संस्कृतिको विकास कस्तो पाउनु हुन्छ र कुन तह र राज्यका निकायबाट कस्तो सहयोग भएमा यसको विकासमा टेवा पुग्छ झैँ लाग्छ?

शिक्षामा प्रयाप्त नभए पनि सरकारले केही लगानी गरेको छ। करिव दुई सय अर्ब यो वर्ष पनि संघीय सरकारले शिक्षामा लगानी गरेको छ। प्रदेश सरकार र स्थानीय सरकारले पनि केही लगानी गरेका छन्। तर, हामीले गुणस्तरीय शिक्षा दिन सकेका छैनौं। शिक्षा आफैँ गतावधिक, अव्सुलेट भयो। त्यसले संस्कार र सिप दिँदैन। त्यसले मानवपुँजी निर्माण गर्दैन। शिक्षाको पाटो यो भयो।

अब साहित्यको कुरा गर्दा साहित्यमा सरकारले राजनीतिक करण गर्‍यो। एकेडेमीमा नियुक्ति गर्ने कुरामा, अथवा पुस्तक प्रकाशन गर्दा, पुरस्कार दिने बेलामा कित्ताकाट भएको छ। नाम नामका पुरस्कार पनि स्थापना भएका छन्। यो व्यक्ति मेरो पार्टीको, योसँग यो नजिक छ भनियो।

एउटा प्रसंग उठाउछु, गोकर्णेश्वर नगरपालिकाले साहित्यमा गरेको लगानी नेपाल सरकारले गरेको लगानीभन्दा बढी छ। सरकारले राम्रा व्यक्ति, क्षमता र प्रतिभावान व्यक्तिलाई एकेडेमीमा कुलपति, उपकुलपति र सदस्य बनाउनुपर्छ। राम्रा व्यक्तिहरूलाई नै महाकवि देवकोटा पुरस्कार, शिद्धिचरण पुरस्कार, विश्वेश्वर पुरस्कार जस्ता सम्मान दिनुपर्छ।

अहिले धनी व्यक्तिहरूले घोष्ट राइटिङका माध्यमबाट पुस्तक लेखाउने संस्कारको विकास पनि भइरहेको छ। मसँग प्रतिभा नभए पनि घोस्ट राइटिङका लागि प्लट दिएर पैसा दिँदा उसले कृति लेखिदिन्छ। यस्तो हुँदा साहित्य विज्ञापनतर्फ जाँदैछ। विज्ञापन गरिएको साहित्य बलियो हुँदैन। कसैको लेखनलाई पेशा व्यवसाय भने बनाएको छ, घुमाएको छ, सेलेव्रेशन भएको छ। त्यो त सिर्जना भएन नि, त्यहा प्रज्ञा छैन नि। सिर्जना खेलाचाी होइन, बनाइनु पनि हुन्न।

अन्त्यमा आगामी दिनमा पाठकले यहाँका के कृति प्राप्त गर्छन्?

मैले एउटा समालोचनात्मक कृतिलाई अन्तिम चरणमा पुर्‍याएको छु। अलि गहन, विचारमूलक र विश्वपरिवेश पनि बोकोस र नेपालको सामयिक सिर्जना सन्दर्भलाई पनि बाकोस भन्ने आधारबाट विचार र विचरण लेखिरहेको छु। यो वर्ष वा अर्को वर्षको सुरुमै विचार र विचरण नामक यो कृति पाठकसामू पस्किन्छु।

त्यसमा साहित्य किन लेख्नुपर्छ, साहित्यमा दर्शन कसरी मिसिनुपर्छ, दर्शनले साहित्यलाई कसरी प्रभाव पार्छ, साहित्य मानक कसरी हुनसक्छ, पात्र कसरी चयन गर्न सकिन्छ भन्ने विषयको चर्चा त्यसमा रहने छ। हामीले प्रेमको पात्र जुलिएटलाई भन्छौं, प्रेमको पात्र अहिलेसम्म पु जुलिएटलाई उछिन्ने आएकै छैन।

रामायणको भगवान रामचन्द्र पात्रलाई सबैभन्दा आदर्श मान्छौं। यस्ता पात्रको चयन कसरी गर्ने, नेपाली साहित्यको अवस्था कस्तो छ र विश्व परिवेश कस्तो छ भन्ने विषयको चर्चा उक्त कृतिमा पाइने छ। त्यसपछि आख्यान प्रकाशन गर्ने सोच छ। र, यसरी प्रकाशन गर्दा आफ्ना मानक र मूल्यहरु पनि त्यसले वोकोस भन्ने सोचेको छु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *