राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप उपाधि कालिकालाई
कास्की । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ।
यही पुस ९ गतेदेखि सुरु भएको प्रतियोगिताको आज सम्पन्न फाइनलमा पोखरा–१४ रामबजारमा अवस्थित कालिकाले आठ स्वर्ण, छ रजत र तीन कास्यसहित कुल १७ पदक जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो।
त्यसैगरी, सहिद स्मृति माविले छ स्वर्ण, पाँच रजत र चार कास्य कुल १५ पदक जित्दै उपविजेता बन्यो। तृतीय बनेको सैनिक आवासीय माविले पाँच स्वर्ण, एक रजत र आठ कास्य गरेर कुल १४ पदक हात पारेको छ।
प्रतियोगितामा कुल चार सय चार पदकका लागि पोखरा महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थीले प्रतिष्पर्धा गरेको समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिनुभयो। प्रतियोगितामा उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी छवटा विधा समावेश गरिएको थियो।
कबड्डीतर्फ छात्रामा रामेश्वरी माविले स्वर्ण, सहिद स्मृति आवासीय माविले रजत र प्रतिभा मावि तथा कालिका माविले कास्य पदक जिते। छात्रतर्फ कालिका माविले स्वर्ण, प्रतिभा माविले रजत र गौरीशङ्कर मावि तथा भवानी कालिका माविले कास्य पदक प्राप्त गरे।
कवड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवै टिमले १२ हजारका दरले नगदसहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे। भलिबल छात्रातर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई कास्य पदक प्राप्त भयो।
छात्रतर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई कास्य पदक हात पर्यो। भलिबलमा प्रथमले रु ३० हजार, द्वितीयले रु २० हजार र तृतीयले रु १२ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे।
एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए। छात्रातर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए। एथलेटिक्स तर्फ ८४ विद्यालयका छ सय ६५ छात्रछात्रा सहभागी भएका थिए।
करातेतर्फ ४१ विद्यालयका छात्रतर्फ ६० र छात्रातर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेका थिए। यो विधामार्फत १२ स्वर्ण, १२ रजत र २४ कास्य गरेर कुल ४८ पदक वितरण गरिएको थियो।
मार्चपासतर्फ रत्नज्योति मावि प्रथम भयो। कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए। मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए। मार्चपासमा प्रथम टिमले रु २० हजार, द्वितीयले रु १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले रु पाँच हजार प्राप्त गरे।
विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए।







डिसी नेपाल








Facebook Comment