गजल
सत्ता र शक्तिमा हुदाँ जो कोही महान हुन्छ
भाग्यमा भए बगरको पत्थर भगवान हुन्छ
यो दुनियाँ अग्लाको हो धुर्त मालिकको हो
म बाँचेको समाज बुझ्दा यस्तै भान हुन्छ
देश रित्तियो युवा बेचिए युरो, डलर, भारुमा
मिडियामा यस्ता समाचारको तानातान हुन्छ
फूल मुस्कुराउँछन् घरी घरी आफ्नै सुगन्धले
जब बगैँचामा आफ्नै सुन्दरताको बयान हुन्छ
ऊ मान्छे हो कति नै टाढिएर हिड्न सक्ला
डोजर लगाए पछि भीर पनि त मैदान हुन्छ
म हारेको हुदैँ होइन जित्न नसकेको मात्र हो
जून पनि यहाँ पूर्णिमाको रातमा जवान हुन्छ
बाचुन्जेल न हुन् कसैका महल कसैका टहरा
मरेपछि सबैको प्रिय घर त उही चिहान हुन्छ ।।
प्रतिक्रिया
















Facebook Comment