दुई छुट्टाछुट्टै स्थानमा भएका तालिवान आक्रमणमा ४६ को मृ*त्यु

डिसी नेपाल
१ असोज २०७६ ६:२६

काबुल । मङ्गलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै वम आक्रमणमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुवै आक्रमणको जिम्मेवारी तालिवान समूहले लिएको छ ।

देशको उत्तरी क्षेत्र पर्वानमा स्थानीय समय अनुसार विहान ११ बजेर ४० मिनेटमा गराइएको विस्फोटमा २४ जनाको मृत्यु भएको थियो भने र यसको केहीबेर (करिब एक घण्टा) पछि अफगानी राजधानी काबुलमा गराइएको आक्रमणमा २२ जनाको मृत्यु भएको थियो। घटनाको अफगानी गृहमन्त्रालयले पुष्टि गरेको छ।

पर्वानमा भएको आक्रमणमा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको साथैे काबुल भएको आक्रमणमा २२ जनाको मृत्यु भएको र ३८ घाइते भएको गृहमन्त्रालयले जनाएको छ। पहिलो आक्रमण राष्ट्रपति असरफ घानीको निर्वाचन अभियानलाई लक्षित गरी भएको र काबुलमा रक्षा मन्त्रालयलाई लक्षित गरी आक्रमण भएको बताइएको छ । मारिनेमा छ सुरक्षाकर्मी र महिला तथा बालबालिकासमेत रहेको जनाइएको छ।

यही सेप्टेम्बर २८ मा हुन लागेको निर्वाचनलाई विथोल्न तालिवान समूहले आक्रमण गरेको सरकारको दावी रहेको छ । दुबै घटनामा उक्त समूहले आफ्ना लडाकूको सम्लग्नता रहेको दावी गरिसकेको छ। यसैबीच आक्रमणपछि राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी दुबै आक्रमणलाई तुच्छ आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ।

तालिवान समूहले निर्दोष जनताको हत्या गरेर निर्वाचन नरोकिने र तोकिएको समयमा सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ। रासस/सिन्ह्वा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *