चिनियाँ लामा हटाउने तयारी, ‘फ्रि तिब्बत’ हावी भएको सरोकारवालाको आशंका

डिसी नेपाल
९ माघ २०८२ १३:४०
2.8k
Shares

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको गुठी संस्थानले चिनियाँ लामा भुपतिबज्र लामालाई हटाउने तयारी गरेको छ। ५ वर्षका लागि नियुक्त भएका चिनियाँ लामालाई ३ वर्ष कार्यकाल बाँकी छँदै हटाउन लागिएको हो।

चिनियाँ लामालाई भूमि व्यवस्था मन्त्री कुमार इङनामको पहलमा हटाउन लागिएको बताइएको छ। तर, चिनियाँ लामालाई हटाउने निर्णयको पछाडि फ्रि तिब्बत मुभमेन्ट हावी भएको आशंका गरिएको छ।

स्रोतका अनुसार हालका चिनियाँ लामा तिब्बतको स्वतन्त्रताको बलियो पक्षपाति होइनन्। अब उनलाई हटाएर फ्रि तिब्बत पक्षका हार्डलाइनरलाई चिनियाँ लामा बनाउने तयारी गरिएको स्रोत बताउँछ।

गएको भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहमा समेत फ्रि तिब्बतका अभियन्ताहरु आन्दोलनमा सहभागी भएको दाबी गरिएको थियो। यस्तो दावी गर्ने धेरै तस्वीर र भिडियोहरु सार्वजनिक भएका थिए।

तर, आन्दोलनपछि गठित नागरिक सरकारले यस विषयमा कुनै अनुसन्धान अगाडि बढाएन र यी दाबीहरु समेत स्वतन्त्र रुपमा पुष्टि हुन सकेनन्। आन्दोलनमा फ्रि तिब्बतका अभियन्ताको प्रवेशको विषय अहिलेसम्म अपु्ष्ट दावीमै सीमित छ।

गएको पुसमा भूमि व्यवस्था मन्त्री कुमार इङनामले हालका चिनियाँ लामा ५ करोड दिएर चिनियाँ लामा नियुक्त भएको आरोप लगाएका थिए। उनले नामै किटेर तत्कालीन भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले घुस लिएर नियुक्ति गरेको भनेका थिए।

तर, मन्त्री इङनामले गरेको दावी प्रमाणित भएको छैन। आरोप पुष्टि गर्ने कुनै अनुसन्धान र प्रतिवेदन नभएको अवस्थामा प्रमाणबिना आरोपको भरमा उनलाई हटाउन खोजिएको दाबी छ।

चिनियाँ लामाको नियुक्ति र उनको कामले नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभाव पार्ने भएकोले यसलाई संवेदनशील विषय मानिन्छ। चिनियाँ लामाको कनेक्सन तिब्बतसम्म पुग्छ जहाँका धर्मगुरु दलाइ लामाको विवाद अन्तर्राष्ट्रिय स्तरसम्म जोडिएको छ।

दलाइ लामा हाल निर्वासित छन् र उनलाई भारतले शरण दिएको छ। बौद्धमा चिनियाँ लामाको नियुक्ति र बर्खास्तीले भूराजनैतिक अस्थिरता निम्त्याउन सक्ने जानकारहरु बताउँछन्।

चिनियाँ लामा काठमाडौंको बौद्धनाथका मूल पुजारी हुन्। इतिहासका विभिन्न समयमा चीनबाट नेपाल आएर बौद्धमा बसोवास गरेका बौद्धमार्गीहरुको संस्था बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख चिनियाँ लामा हुन्छन्। चिनियाँ लामाको नियुक्ति गुठी संस्थानले गर्छ। चिनियाँ लामाको पदावधि ५ वर्षको हुन्छ।

भुपतिबज्रको कार्यकाल अझै तीन वर्ष बाँकी छ। अहिले उनलाई जे आरोप लगाइएको छ, ती सबै विषयमा नियुक्ति गर्नु अगाडि छानबीन भएर प्रमाणित नभएपछि मात्रै उनलाई संचालक समितिले नियुक्ति गरेको थियो। निर्वाचन गराउने प्रमुख दायित्व बोकेका कारणका मन्त्रीको निर्देशनमा भुपतिबज्रलाई हटाउन खोजिएको स्रोतको दाबी छ।

गुठी संस्थानका प्रशासक शैलेश कुँवरले चिनियाँ लामा भुपतिबज्रलाई हटाउने वा नहटाउने विषयमा छलफल चलिरहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.