प्रस्तावित ‘नेपालवाद’का ३ पुस्तक सार्वजनिक

डिसी नेपाल
२३ माघ २०८२ १९:२४
36
Shares

काठमाडौं। प्रस्तावित ‘नेपालवाद‘सँग सम्बन्धित तीन पुस्तक शुक्रबार सार्वजनिक गरिएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी कार्यक्रमबारे जानकारी दिंदै नेपालवादका परिकल्पनाकार खेम शर्माले पुस्तक विमोचन गरेका हुन्।

विमोचन भएको मुख्य पुस्तक ‘नेपालवाद : राष्ट्रिय नीति-विचार केन्द्र (परिकल्पना)’ हो भने दोस्रो ‘नागरिक प्रश्न’ र तेस्रो ‘नागरिक जिम्मेवारी’ हो। यी तीनवटै पुस्तक थुप्रै डटकम मार्फत ई-बुकको रूपमा सार्वजनिक गरिएको हो।

पहिलो पुस्तकमा दीर्घकालीन नीति-ज्ञान, अनुसन्धान, तथ्यमा आधारित बहस र संस्थागत क्षमताको एकीकृत ढाँचा प्रस्तुत गरिएको छ। पुस्तकमा २४ पिलरमा नेपालको अवस्था, सुधार/निर्माणका प्राथमिकता र मिति-लक्ष्य-जिम्मेवारीका आधारमा नतिजा निकाल्ने रूपरेखा प्रस्तुत गरिएको छ।

राष्ट्रनिर्माण अब भाषण होइन ब्लूप्रिन्ट बनोस् भनेर यी पुस्तकहरु सार्वजनिक गरिएको नेपालवादका परिकल्पनाकार खेम शर्माले बताए। उनले नेपालवाद कुनै दलको वाद नभई नेपालको आफ्नै अनुभव, भौगोलिक संवेदनशीलता, सामाजिक बहुलता र राष्ट्रिय हितबाट जन्मिएको राष्ट्रिय चिन्तन भएको बताए।

यस्तै ‘नागरिक प्रश्न’मा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई मध्येनजर गर्दै उम्मेदवारहरूलाई सोध्ने पर्ने प्रश्नहरु समेटिएको छ। जसमा पूर्वाधार विकास, प्रशासन, कुटनीति एवं सुरक्षालगायतका २४ क्षेत्रका विषयमा ११/११ वटा प्रश्न समेटिएको छ । यसमा कहिले, कति र कसले भन्ने प्रश्नलाई प्राथमिकतामा राखिएको शर्माले बताए।

अर्को पुस्तक ‘नागरिक जिम्मेवारी’मा राष्ट्र बनाउन आवश्यक ठानिएका २४ पिलरमा नागरिकका कम्तीमा ११/११ व्यवहारिक भूमिका समेटिएको शर्माले बताए।

‘देश केवल नेताले मात्र बनाउने होइन नागरिकको दैनिक आचरण, सहभागिता र जिम्मेवारीले पनि राष्ट्रको दिशा तय गर्छ भन्ने मान्यताका साथ् यो तयार गरिएको हो’, शर्माले भने, ‘यसको उद्देश्य नागरिकलाई दोष लगाउनु होइन सक्षम बनाउनु हो । सत्य-जाँच, नियम पालन, श्रम सम्मान, सार्वजनिक सम्पत्ति संरक्षण र नतिजा माग्ने संस्कारलाई व्यवहारमै उतार्न सहयोग गर्ने मार्गदर्शन दिनु हो ।

पत्रकार सम्मेलनमा शर्माले अबको ६०-७५ दिनभित्र नेपाल र विश्वभर रहेका नेपालीबाट थप सुझाव संकलन गरी यो ब्लूप्रिन्टलाई प्रिन्टेड किताबका रुपमा ल्याउने जानकारी दिए । यसका लागि थप बहस गर्ने र सल्लाह सुझाव संकलन गरिने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.