साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

डिसी नेपाल
२४ माघ २०८२ २१:२२
28
Shares

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ। पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा साविक विजेता बङ्गलादेशमाथि ४–० को फराकिलो अन्तरको जित निकाल्दै भारत च्याम्पियन बनेको हो।

भारतले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो। खेलको ४२औँ मिनेटमा कप्तान जुलान नोङमेथेमले गोल गरेर अग्रता बनाएकी हुन्। एलिजावेद लार्काले ६३औँ मिनेटमा अग्रता बनाएकी थिइन्।

भारतले खेलको ६८औँ मिनेटमा पेनाल्टी पायो। बङ्गलादेशकी गोलकिपर बेगमले पेनाल्टी क्षेत्रमा विपक्षी खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा पर्ल फर्नान्डेजले गोल गरेकी थिइन्। यसैगरी अन्विता रघुरामनले ८३औँ मिनेटमा गोल गरेपछि भारतले फराकिलो अन्तरको जित निकाल्न सफल भयो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि बङ्गलादेशकी अल्पी अक्तरले पाएकी छिन्। उत्कृष्ट गोल रक्षक भारतकी मुन्नी बन्दा फेयर प्ले अवार्ड भारतले पाएको छ। यही माघ १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार टोलीको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.