त्रिभुवन आर्मी सेमिफाइनलबाट बाहिरियो

डिसी नेपाल
२ फागुन २०८२ २१:११
52
Shares

सुरुङ्गा (झापा)। झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलबाटै घर फर्किएको छ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी सातौँ झापा गोल्डकपअन्तर्गत आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबसँग ४-० को फराकिलो गोल अन्तरले पराजित हुँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलबाट बाहिरिएको हो।

योसँगै मच्छिन्द्र क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। यही फागुन ४ गते हुने फाइनल प्रतियोगितामा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लवसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आजको खेलमा मच्छिन्द्रका तर्फबाट स्ट्राइकर जोनाथन जोरिल्लाले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए। त्यस्तै अतिरिक्त समयमा रेजिन सुब्बाले एक गोल थपे।

खेलको ‘प्लेयर अफ दी म्याच’ मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित भएका छन्। उनले रु २५ हजार पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ। प्रतियोगिताभर प्लेयर अफ दी म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ र उनका साथीले प्रदान गर्दै आएका छन्।

प्रतियोगितामा विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही रु ३५ हजार पाउने आयोजकले जनाएको छ। फाइनल खेल फागुन ४ गते हुने आयोजकले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.