विश्वकपमा एसोसिएट टिमका खेलाडीको पहिलो शतक, त्यो पनि टेस्ट राष्ट्रविरुद्ध

डिसी नेपाल
५ फागुन २०८२ १३:०५
1.1k
Shares

काठमाडौं । जारी टि–२० विश्वकपमा क्यानडाका खेलाडी युवराज शर्माले इतिहास रचेका छन् । आज चेन्र्नमा जारी खेलमा उनले ५८ बलमा शतक बनाए । उनले ६५ बलमा ११० रन बनाएर आउट भए । उनले कूल ११ चौका र ६ छक्का प्रहार गरे । क्यानडाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७३ रन बनाएको छ ।

युवराज शर्मा विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन् । शर्माले १९ वर्ष १४१ दिनको उमेरमा यो उपलब्धी हासिल गरेका हुन् । उनीअघि विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी पाकिस्तानका अहमद शहजाद थिए । शहजादले २०१४ को विश्वकपमा बंगलादेशविरुद्ध शतक बनाउँदा उनको उमेर २२ वर्ष १६२ दिन थियो ।

यससँगै शर्मा टि–२० विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट टिमका खेलाडी बनेका छन् । यसअघि कुनै पनि एसोसिएट खेलाडीले टि–२० विश्वकपमा शतक बनाउन सकेका थिएनन् । शर्माको इनिङ यसकारण पनि धेरै ऐतिहासिक छ किनकि उनले यो शतक टेस्ट राष्ट्र न्यूजिल्याण्डविरुद्ध बनाएका हुन् ।

विश्वकपबाहेक अन्य टि–२० अन्तर्राष्ट्रियमा समेत यसअघि एसोसिएट टिमका खेलाडीले टेस्ट राष्ट्रविरुद्ध केवल २ पटक शतक बनाएका छन् । र, ती शतक टेस्ट राष्ट्रमध्ये सबैभन्दा कमजोर टिमविरुद्ध बनेका थिए । यसअघि स्पेनका मोहम्मद इहसानले २०१९ मा आयरल्याण्डविरुद्ध र चेक रिपब्लिकका सबावुन दाबिजीले २०२३ मा आयरल्याण्डकै विरुद्ध शतक बनाएका थिए ।

अहिलेको आइसीसी बरियताअनुसार आयरल्याण्ड टेस्ट राष्ट्रमध्ये सबैभन्दा कमजोर टिम हो । टेस्ट मान्यता पाएका कूल १२ टिम छन् । आइसीसीको टि–२० बरियतामा आयरल्याण्ड टेस्ट राष्ट्रमध्ये सबैभन्दा पुछारमा १२ औं स्थानमा छ । जबकि न्यूजिल्याण्ड आइसीसी बरियताअनुसार चौथो बलियो टि–२० टोली हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.