नम्बर १ ब्याटरको विश्वकपमा ३ खेल खेल्दा पनि शून्य रन

डिसी नेपाल
७ फागुन २०८२ १५:१३
3.2k
Shares

काठमाडौं । आइसीसी टि–२० विश्वकपमा सुपर ८ समीकरण पूरा भएको छ । समूह चरणका अन्तिम २ खेल बाँकी छन् तर यी खेलको नतिजाले अब सुपर ८ समीकरणमा कुनै प्रभाव पार्ने छैन । कूल २० टिममध्ये अगाडि बढ्ने ८ टिम निश्चित भइसकेका छन् ।

समूह चरणमा आफ्ना चारवटै खेल जितेर भारत पनि सुपर ८ मा प्रवेश गरेको छ । तर, भारतका एक जना खेलाडीको विश्वकपमा प्रदर्शन निकै अनौठो र बिर्सनलायक बनेको छ । आइसीसीको बरियतामा उनी टि–२० ब्याटिङतर्फ अझैसम्म नम्बर १ ब्याटर हुन् । तर, जारी विश्वकपमा उनले ३ खेल खेलेर पनि एक रनसमेत जोड्न सकेका छैनन् ।

यी खेलाडी भारतका अभिषेक शर्मा हुन् । उनले जारी विश्वकपमा ३ खेल खेले र तीनैपटक शून्यमा आउट भए । उनले विश्वकपको पहिलो खेल अमेरिकाविरुद्ध खेलेका थिए । यो खेलमा उनी आफूले सामना गरेको पहिलो बलमै गोल्डेन डक आउट भए । उनलाई अली खानले आउट गराए ।

अभिषेकले बिरामी भएका कारण नामिबियासँगको दोस्रो खेल गुमाए । यो खेलमा उनको ठाउँमा सञ्जु सामसन खेले । भारतको तेस्रो खेलमा पाकिस्तानविरुद्ध खेल्न उनी फेरि टोलीमा फर्किए । तर, यो खेलमा पनि सलमान आघाको बलमा अभिषेक आउट भए । उनले ४ बल खेले तर एक रन पनि बनाउन सकेनन् ।

भारतले समूह चरणको अन्तिम खेल हिजो नेदरल्याण्ड्सविरुद्ध खेल्यो । यो खेलमा पनि अभिषेकले एक रन पनि बनाउन सकेनन् । उनले ३ बल खेले र तेस्रो बलमा आर्यन दत्तको बलमा बोल्ड भए । भारतले अब सुपर ८ को पहिलो खेल आइतबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.