भारतले जित्यो ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि
काठमाडौं। भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो। विश्वकपमा भारतको यो लगातार दोस्रो उपाधि हो। यसअघि सन् २०२४ मा भएको विश्वकपको उपाधि पनि भारतले जितेको थियो। सन् २००७ को विश्वकपमा पनि भारतले उपाधि जितेको थियो।
आज भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटियो। न्यूजिल्याण्डका लागि टिम सिफर्टले सर्वाधिक २६ बलमा दुई चौका र पाँच छक्काको मद्दतमा ५२ रन बनाए। त्यस्तै मिचेल स्यान्टनरले ३५ बलमा ४३ रन जोडे भने ड्यारिल मिचेलले ११ बलमा १७ रन बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
बलिङतर्फ भारतका बलरहरू उत्कृष्ट देखिए। जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिँदै ४ विकेट लिए। त्यसैगरी अक्षर पटेलले ३ विकेट लिए भने हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान १–१ विकेट लिए।
त्यसअघि ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको योगफल बनाएको थियो। भारतका लागि सञ्जु सैमसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए।
त्यस्तै अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे भने इशान किशनले २५ बलमा ५४ रन बनाए। हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए। कप्तान सूर्यकुमार यादव भने ज्ञ बलमै आउट भए। अन्त्यतिर शिवम दुबेले ८ बलमा २६ रन बनाए भने तिलक वर्मा ८ रनमा अविजित रहे।
न्यूजिल्याण्डका लागि जेम्स निशमले ३ विकेट लिए। त्यस्तै म्याट हेनरी र रचिन रविन्द्रले समान १–१ विकेट लिए।







डिसी नेपाल







Facebook Comment