कृष्णप्रसाद भट्टराई स्मृति फुटबल : बसाहा क्लब सेमीफाइनलमा

डिसी नेपाल
१ चैत २०८२ २२:३६
40
Shares

धरान (सुनसरी)। इटहरीमा जारीे तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्व कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको बसाहा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज भएको खेलमा उदयपुरको बसाहा क्लबले न्यू स्टार क्लब बराहाक्षेत्रलाई ‘ट्राइब्रेकर’मा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो। निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो। बसाहा क्लबका लागि रितेश तामाङले ५७औँ मिनेटमा तथा अनिश बस्नेतले ७६औँ मिनेटमा गोल गरेका थिए। यस्तै न्यू स्टार क्लबका नितेश लिम्बूले खेलको नवौँ र ५९औँ मिनेटमा गोल गरेका थिए।

ट्राइब्रेकरमा बसाहा क्लबका रितेश तामाङ, बिबेक चौधरी, आयुष राई र पवन मगरले गोल गरेका थिए भने न्यू स्टार क्लबका सन्दीप श्रेष्ठ, नितेश लिम्बू र भीम विकले गोल गरे भने सुसान्त तामाङ र उमेश कार्कीले गोल गर्न सकेनन्। आजको खेलको ‘प्लेयर अफ दी म्याच’ बसाहा क्लबका गोलकिपर सन्दीप भट्टराई घोषित भए। उनले रु पाँच हजार ५०० सहित मेडल प्राप्त गरेको क्लबका सचिव विज्ञान राईले जानकारी दिए।

सोमबार क्वाटरफाइनल खेल सङ्खुवासभाको लोहोरुङ फुटबल क्लब र तेह्रथुमको चुत्तन स्पोर्टिङ क्लबबीच हुने छ। यही चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोली सहभागी छन्। प्रतियोगिताको विजेताले रु चार लाख चार हजार तथा उपविजेताले रु दुई लाख दुई हजार २०० प्राप्त गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.