संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग

डिसी नेपाल
३ चैत २०८२ २०:४३
60
Shares

काठमाडौं । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)को अन्तराष्ट्रिय कमिटीले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्ने काममा सरकारले पहल गर्न ध्यानार्कषण गराएको छ।

विश्वभर छरिएका नेपाली मुलका व्यक्तिहरूको संगठन एएनओको अन्तराष्ट्रिय प्रतिनिधि मण्डलले मंगलबार परराष्ट्रमन्त्री बालानन्द शर्मालाई भेटी ध्यानार्कषण पत्र बुझाएको हो।

एएनओका अन्तराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशिल पन्त, महासचिव चुढामणि भट्टराई, नेपाल च्याप्टर अध्यक्ष कृष्णप्रसाद सापकोटालगायतको प्रतिनिधि मण्डलले विश्वभर छरिएका पुस्तौ पुस्तामाथिका नेपाली मुलकाहरूलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षमा बेग्लै डेस्क खडा गर्न समेत माग गरेको छ। साथै, पूर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै ७ हजार भुटानी शरणार्थीहरूको मानव अधिकार तथा मानवीय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग पनि प्रतिनिधि मण्डलले गरेको छ।

आफूहरूले नेपाल भन्दा बाहिर नेपाली पहिचानको विस्तारमा सहयोग पुर्‍याइरहेको बताउँदै एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपाल सरकार सहयोगी बनेमा नेपालको बार्षिक बजेट भन्दा ठूलो लगानी नेपालमा ल्याउन सकिने बताए।

बरिष्ठ अधिबक्ता तथा एएनओका उपाध्यक्ष सुशीलकुमार पन्तले नेपालीमन र नेपाली पनलाई जोड्दै एएनओ अघि बढेको बताउँदै सरकारले यो विषयलाई राष्ट्रहितका लागि गम्भीररुपमा लिन आग्रह पनि गरे। महासचिव चुडामणि भट्टराईले एएनओको माग मुलतः राजनीतिक भन्दा पनि सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानसँग जोडिएको बताए।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै परराष्ट्र मन्त्री शर्माले एएनओका माग नेपालकै पहिचान विस्तारमा सघाउने प्रकृतिको भएकाले सरोकारवाला निकाय राखेर छिट्टै बृहत बैठक गर्ने र निचोडमा पुग्ने आश्वासन दिए। उनले आफू सैनिक सेवामा रहँदा पुस्तौअघि बाहिरिएका नेपाली मूलका मानिस भेट्ने अवसर पाएको अनुभव सुनाउँदै उनीहरूलाई पुर्ख्यौली देशसँग जोड्ने सार्थक अभियान अघि बढ्ने विश्वास व्यक्त गरे। उनले मध्यपुर्वबाट नेपालीहरु उद्धार गर्ने कार्यमा पनि सरकारले गृहकार्य गरिरहेको जानकारी पनि दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.