हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्रमा भएको हिमापात । मुस्ताङको घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङको सबै स्थानमा भारी हिमपात भएको छ । हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थीहरुलाई असहज भएको छ । तस्बिर: सुशीलबाबु थकाली / रासस
मुस्ताङ। यहाँस्थित माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। दिउँसो ४ः०० बजेदेखि परेको निरन्तरको हिमपात र वर्षाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।
यहाँस्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रको दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ।
संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले थासाङ गाउँपालिकादेखि नेपाल–चीन कोरलानाकासम्मको ११ केभी विद्युत् प्रसारण लाइनमा हिमपात र वर्षाले प्राविधिक समस्या उत्पन्न भएको जानकारी दिनुभयो।
कार्यालय प्रमुख थकालीले मौसममा सुधार हुनेबित्तिकै विद्युत् प्रसारण लाइनमा देखिएको समस्या आवश्यक मर्मत गरी पुनः सञ्चालन गरिने बताउनुभयो। यसका लागि मौसममा सुधार हुनेबित्तिकै मर्मतका लागि प्राविधिक टोली त्यसतर्फ पठाइने जानकारी दिए। हिमपात र वर्षाले विद्युत् प्रसारण लाइनमा केकति क्षति भएको भन्ने जानकारी प्राप्त नभइसकेको कार्यालय प्रमुख थकालीको भनाइ छ।







डिसी नेपाल







Facebook Comment