बेलायतमा हुवावेको तालिम केन्द्र

डिसी नेपाल
४ असोज २०७६ १७:००

बर्मिङघम (एजेन्सी) । चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५–जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चारप्रविधिका बारेमा तालिम प्रदान गरिनेछ ।

केन्द्रमा एक पटकमा २० जनालाई तालिम दिन सकिनेछ । प्रत्येक तालिमका प्रशिक्षार्थीलाई पाँच दिनको तालिम दिइने र यसमा ५जी प्रविधि, आधुनिक नेटवर्क इन्जिनियरिङका सिद्धान्त एवं ५–जी नेटवर्कका उपकरणको जडानबारे व्यवहारिक ज्ञान दिइनेछ ।

हुवावेका अनुसार केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि ५–जी प्रविधिसँग सम्बन्धित एक हजार नेटवर्क इन्जिनियरलाई प्रशिक्षण दिइनेछ । हुवावे बेलायतका निर्देशक सर एन्ड्रु काहनले बेलायतमा उच्च गतिको ५–जी नेटवर्कसँग सम्बन्धित इन्जिनियरको खाँचो रहेको र तालिम केन्द्रले उक्त अभाव पूरा गर्ने विश्वास व्यक्त गरे ।

चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच तनाव जारी रहेको बेला बेलायतमा उसको तालिम केन्द्र स्थापना हुनुले हुवावेलाई राहत हुने अनुमान गरिएको छ । हुवावेका उत्पादनले जासुसी गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । तर, हुवावेले भने त्यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकाले हुवावेका उत्पादनलाई अमेरिकामा प्रतिबन्ध लगाउनुका साथै आफ्ना सहयोगी मुलुकहरुलाई पनि हुवावेका उत्पादन उपयोग नगर्न सुझाव दिएको छ ।

अमेरिका र हुवावेबीचको विवादका कारण गत वर्षदेखि हुवावेको बजारसमेत खस्केको अनुमान गरिएको छ । उता अमेरिकी कम्पनी गुगलले पनि हुवावेलाई सिमित सेवा दिने बताएपछि यो विवादले झन उग्र रुप लिएको छ ।

गुगलले हुवावे मोबाइलमा गुगल प्ले स्टोर नरहेने बताएपछि हुवावेले आफ्नै प्ले स्टोर निर्माण गरिसकेको छ । क्यानेडाले हुवावेकी आर्थिक प्रमुखलाई गिरफ्तार गरेपछि अमेरिका र हुवावेबीच थप तनाव बढेको थियो । अमेरिकी इसारामा उनलाई क्यानेडाले पक्राउ गरेको चीनले बताउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *