असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

डिसी नेपाल
१५ चैत २०८२ १०:३२
52
Shares

सुर्खेत। शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थाको हिउँदे बालीमा क्षति पुर्‍याएपछि कृषकहरू चिन्तित भएका छन्। चामुण्डा बिन्द्रासैनी नगरपालिकाको विभिन्न स्थानहरूमा असिना पानीले क्षति पुर्‍याएको छ।

शुक्रबार साँझ तीन घण्टासम्म लगातार परेको असिनाले पाक्नै लागेको गहुँ, जौ, केराउ, तोरी लगायतका बाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय तिलक तिमिल्सेनाले जानकारी दिए।

लगातारको असिना एक फिटसम्म बाक्लो भई जम्मा भएको र त्यसले पुरै बाली नष्ट गरेको बताए। असिनाले सुन्तला, कागतीलगायत फलफूलका बिरुवाहरूमा समेत क्षति पुर्‍याएको छ। चामुण्डा बिन्द्रसैनीको वडा नम्बर १, २ र ३ मा धेरै क्षति भएको स्थानीयले बताएका छन्।
‘असिनाले भित्र्याउने बेला भएको गहुँ, जौ र केराउ बाली सखाप बनाएको छ’ उनले भने, ‘यसले आगामी वर्ष यी बस्तीहरूमा खाद्यान्न अभावको जोखिम बढाएको छ।’

हिउँदमा पटक पटक पानी परेपछि राम्रो उत्पादन हुने अपेक्षा गरिएको हिउँदे बाली सखाप भए पछि कृषकहरू चिन्तामा परेको स्थानीय मदन सापकोटाले बताए।

‘राम्रो उत्पादन हुने अपेक्षा गरिएको बाली नष्ट भए पनि क्षतिको यकिन भएको छैन’ उनले भने, ‘सरकारी निकायबाट औपचारिक मूल्यांकन गरे पछि यकिन क्षति थाहा होला।’

स्थानीयहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत अध्ययन, क्षतिको मूल्यांकन र राहत वितरणको माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *