हैदराबादको सानदार जित: राजस्थानको अपराजित यात्रामा पूर्णविराम

डिसी नेपाल
१ वैशाख २०८३ ७:३८
124
Shares

काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २१ औँ खेलमा सनराइजर्स हैदराबादले अपराजित रहेको राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ। हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१६ रनको विशाल योगफल खडा गरेको थियो।

हैदराबादका लागि कप्तान इशान किशनले विस्फोटक ब्याटिङ गर्दै मात्र ४४ बलमा ८ चौका र ६ छक्काको मद्दतले ९१ रनको कप्तानी इनिङ खेले। त्यस्तै हेनरिक क्लासेनले ४० रन र नितिश कुमार रेड्डीले २८ रन जोडेपछि हैदराबादले चुनौतीपूर्ण लक्ष्य तय गरेको थियो। राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिएका थिए।

२१७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानको सुरुवात निकै खराब रह्यो। हैदराबादका डेब्यु खेलाडी प्रफुल हिन्जले घातक बलिङ गर्दै पहिलो ओभरमै ३ विकेट लिएपछि राजस्थानको ब्याटिङ लाइनअप धर्मराएको थियो। राजस्थान ९ रनमा ५ विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो।

मध्यक्रममा डोनोभन फरेरा (६९ रन) र रविन्द्र जडेजा (४५ रन) ले ११८ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। राजस्थानले १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो।

हैदराबादका लागि डेब्युटेन्ट बलरहरू प्रफुल हिन्ज र सकिब हुसेनले घातक बलिङ गर्दै समान ४–४ विकेट लिए। खेलको ‘प्लेयर अफ द म्याच’ प्रफुल हिन्ज घोषित भए। यो हारसँगै राजस्थानले सिजनको पहिलो पराजय भोगेको छ भने हैदराबादले आफ्नो दोस्रो जित दर्ता गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *