‘नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महत्त्वपूर्ण योगदान’
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनमा रैथाने खानाको महुत्त्वपूर्ण योगदान रहेको बताइएको छ। ग्लोरी मिडिया र न्यूज लाइन्स मिडियाले आज यहाँ आयोजना गरेको ‘रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मी प्राकृतिक भोजन’ कार्यक्रमका वक्ताहरूले नेपालको रैथाने खानामार्फत पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन्।
कार्यक्रममा अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स नेपाल शाखाका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनमा स्थानीय खानाको महत्त्वपूर्ण भूमिका रहेको बताए।
“नेपाली रैथाने खानालाई सही ढङ्गले ‘ब्रान्डिङ’ गर्न सकियो भने यसले अन्तरराष्ट्रिय बजारमा ठूलो स्थान बनाउन सक्छ”, उनले भने। घरदेखि होटलसम्म रैथाने खानाको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ थियो।
गैरआवासीय नेपाली सङ्घकी पूर्वअध्यक्ष रविना थापाले नेपाली रैथाने खाना मानव स्वास्थ्यका लागि लाभदायी भएको बताए। “आधुनिक जीवनशैलीले ल्याएको अस्वस्थ खानाको विकल्पका रूपमा यसलाई अघि बढाउनुपर्छ”, उनले भने।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले नेपालका विभिन्न भूगोलमा आफ्नै विशेषता बोकेका खानाहरू रहेको भन्दै त्यसलाई प्रवर्द्धन गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाले रैथाने खानाको प्रवर्द्धनले स्थानीय पाककला क्षेत्रलाई थप उचाइमा पुर्याउने बताए।
वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खानाले आन्तरिक तथा बाह्य पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए। सोफा उत्पादक सङ्घका अध्यक्ष तारालाल धरेलले रैथाने खानालाई व्यावसायिक रूपमा विस्तार गर्न सकिने बताए।
रैथाने खानाका अभियन्ता तिलक ढकालले रैथाने खानाले शरीरलाई आवश्यक पोषण दिनुका साथै समाजलाई स्वस्थ राख्न महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खानालाई विश्वस्तरमा चिनाउने आवश्यकता रहेको बताए। न्यूजलाइन्स मिडियाकी सम्पादक सरिता ढकालले रैथाने खाना, प्राकृतिक भोजन तथा यसको व्यावसायिक सम्भावनाबारे निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा पाककला क्षेत्रमा योगदान पुर्याउनुभएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोखरेल, वरिष्ठ सेफ मोहन गजुरेल, सेफ्स एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष रेशम लामा तामाङ र अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई ‘पाककला गौरव सम्मान’ द्वारा सम्मानित गरिएको थियो।







डिसी नेपाल







Facebook Comment