वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन

डिसी नेपाल
१० वैशाख २०८३ १७:४१

धनकुटा। यही वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

आयोजक संस्था रारा फुटबल क्लब राजारानीले बिहीबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

चण्डीपूर्णिमा तथा बुद्धजयन्तीका अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगितामा देशभरबाट आठ फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए। प्रथम पुरस्कार सात लाख र दोस्रो तीन लाख रहेको यो प्रतियोगिता जिल्लाकै सबैभन्दा बढी धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता हो।

प्रतियोगितामा आयोजक रारा, सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौं), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा)को सहभागिता रहनेछ।

कार्यक्रममा सम्पन्न गर्न ३६ लाख ५० हजार बराबरको खर्च हुने संस्थाका सचिव जीवन कटुवालले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *