स्वास्थ्यमन्त्री मेहताको अपिल

डिसी नेपाल
१५ वैशाख २०८३ २२:४७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन सबै स्वास्थ्यकर्मीलाई अपिल गरेकी छिन्।

आजदेखि सुरु भएको राष्ट्रिय पोषण लेखाजोखा अभियानलाई सफल बनाउन उनले सबै स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विकास साझेदार, स्थानीय तहका जनप्रतिनिधिलाई एकजुट भई सक्रिय सहभागिता जनाउन अपिल गरिन्।

मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीका अनुसार ‘समयमै पहिचान, सही उपचार–कुपोषण मुक्त पुस्ताको आधार’ मूल नाराका साथ यही वैशाख ३० गतेसम्म सञ्चालन हुने राष्ट्रिय पोषण लेखाजोखा अभियानका अवसरमा मन्त्री मेहताले सहयोगका लागि सबैलाई अपिल गरेकी हुन्।

अभियानमा छदेखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषणको समयमै पहिचान र आवश्यक उपचार तथा सेवा सुनिश्चित गरिने छ।

स्थानीय तह, जिल्ला तथा प्रदेश स्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रहरूको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधारसमेत तयार गरिने सूचना अधिकारी डा केसीले बताए।

अभियान देशभरका सबै ७५३ स्थानीय तहमा सञ्चालन गरिनेछ । बालबालिकाको पोषणको लेखाजोखा स्वास्थ्य संस्था तथा खोप केन्द्रहरू, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवनहरू तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन गरिनेछ।

कार्यक्रम सञ्चालनका क्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका लक्षित बालबालिकाको सङ्ख्या, आवश्यक स्वास्थ्यकर्मी टोली तथा सामग्रीको व्यवस्थापनसहित सूक्ष्म योजना तयार गर्नेछन्।

डिजिटल तौल मेसिन, उचाइ र लम्बाइ मापन बोर्ड तथा पाखुराको घेराइ नापेर बालबालिकको कुपोषणको अवस्था पहिचान गर्ने जनाइएको छ।

अभियानबाट प्राप्त हुने तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग पु¥याउने र लक्षित पोषण कार्यक्रम सञ्चालन सहयोग मिल्ने सूचना अधिकारी डा केसीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *