सरुवा भएका कर्मचारी कार्यक्षेत्रमा नखटिए कारबाही गर्ने सामान्य प्रशासन मन्त्रालयको चेतावनी

डिसी नेपाल
१६ वैशाख २०८३ ६:३६

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीहरू तोकिएको समयभित्र आफ्नो नयाँ कार्यक्षेत्रमा हाजिर हुन नगए कडा कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले पछिल्लो समय सरुवाको निर्णय भए पनि विभिन्न बहाना बनाएर पुरानै कार्यालयमा बसिरहने र नयाँ जिम्मेवारी सम्हाल्न आनाकानी गर्ने प्रवृत्ति बढेको भन्दै यस्तो निर्देशन जारी गरेको हो।

मन्त्रालयद्वारा सार्वजनिक सूचनामा सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई समेत सचेत गराइएको छ।

सरुवा भएको लामो समय बितिसक्दा पनि रमाना नलिने र कार्यक्षेत्रमा नखटिने कर्मचारीहरूको विवरण संकलन भइरहेको र उनीहरूलाई निजामती सेवा ऐन बमोजिम विभागीय कारबाहीको दायरामा ल्याइने मन्त्रालयले स्पष्ट पारेको छ।

विशेष गरी स्थानीय तह र दुर्गम क्षेत्रमा सरुवा भएका कर्मचारीहरू जान नचाहने समस्याका कारण सेवा प्रवाहमा समेत असर परेको मन्त्रालयको निष्कर्ष छ।

यसअघि पनि पटक-पटक यस्ता निर्देशन जारी भए तापनि कार्यान्वयनमा फितलो देखिएपछि यस पटक मन्त्रालयले कडाइ गर्ने संकेत दिएको हो। अब पनि अटेर गर्ने कर्मचारीहरूको तलब रोक्का गर्नेदेखि अन्य विभागीय सजायसम्मका प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *