सांसदलाई ‘माननीय’ नलेख्न रविको निर्देशन, टिकटको आश्वासन बाँडे कारबाही गर्ने चेतावनी

डिसी नेपाल
१६ वैशाख २०८३ १४:१९

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना जनप्रतिनिधिहरूको कार्यशैली र आगामी चुनावी तयारीलाई लिएर नयाँ आन्तरिक निर्देशिका जारी गरेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा पार्टी सभापति रवि लामिछानेले सबै सांसदहरूलाई आफ्ना आधिकारिक लेटर हेड, कार्ड र अन्य कागजातहरूमा एकरूपता ल्याउन निर्देशन दिएका हुन्।

विशेषगरी संसदीय अभ्यासमा देखिने तामझामलाई निरुत्साहित गर्न सभापति लामिछानेले आफ्ना कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न सांसदहरूलाई स्पष्ट निर्देशन दिनुभएको जानकारी प्रवक्ता मनिष झाले दिए।

बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण र सांसदहरूको क्षमता अभिवृद्धिका विषयमा समेत गम्भीर छलफल भएको छ। प्रवक्ता झाका अनुसार पार्टीका सांसदहरूलाई संसदीय प्रक्रिया र नीति निर्माणका विषयमा अझै धेरै कुरा सिक्न बाँकी रहेको महसुस गर्दै मेन्टर र सल्लाहकारहरूको सहयोग लिन सुझाव दिइएको छ।

विज्ञहरूको सल्लाह र सुझावलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै रास्वपाले आगामी निर्वाचनका लागि योग्य उम्मेदवार चयन गर्न ‘क्यान्डिडेट क्लब’ को अवधारणा अघि सारेको छ। यस अभ्यासको सुरुवात आगामी वैशाख २० गतेदेखि हुने र यसले निर्वाचनपूर्वको प्रशिक्षण तथा उम्मेदवार छनोट प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउने विश्वास पार्टीले लिएको छ।

निर्वाचनको तयारीका सन्दर्भमा सभापति लामिछानेले टिकट वितरणको विषयलाई लिएर कडा चेतावनी दिएका छन्। कुनै पनि सांसदले कसैलाई पनि आगामी निर्वाचनको टिकट दिने विषयमा व्यक्तिगत प्रतिबद्धता वा आश्वासन बाँड्न नपाउने नियम बैठकले तय गरेको छ।

यदि कतै त्यस्तो गलत अभ्यास वा आश्वासन दिएको भेटिएमा सम्बन्धित सांसद कारबाहीको भागीदार हुनुपर्ने चेतावनी समेत दिइएको छ। टिकट वितरण प्रणालीलाई संस्थागत बनाउन र व्यक्तिवादी हावी हुन नदिन यस्तो कदम चालिएको प्रवक्ता झाले प्रस्ट पारेका छन्।

पछिल्लो समय सरकारले संसद् अधिवेशन हठात् अन्त्य गरी अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पनि बैठकमा गहन मन्थन भएको छ।

सरकारको यो कदमको सर्वत्र आलोचना भइरहेका बेला रास्वपाले आफ्नो संसदीय भूमिका र सरकारलाई जवाफदेही बनाउने उपायका बारेमा सांसदहरूसँग सुझाव मागेको हो। बैठकमा सांसदहरूले संसदीय अभ्यास, सरकारी कामकारबाही र पार्टीको आगामी रणनीतिका बारेमा सभापति, प्रमुख सचेतक र पदाधिकारीहरूलाई विभिन्न जिज्ञासा र प्रश्नहरू राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *