नेपाली व्यवसायी संघ बेल्जियमको नेतृत्वमा काशी दनाई सर्वसम्मत

डिसी नेपाल
१६ वैशाख २०८३ १७:००

बेल्जियम । नेपाली व्यवसायी संघ बेल्जियमको हालै सम्पन्न आठौँ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ।

अप्रिल २७ सोमबार सम्पन्न महाधिवेशनबाट व्यवसायी काशी दनाई सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। दनाई बेल्जियममा प्रतिष्ठित ‘सुशी किंग ग्रुप’का प्रबन्ध निर्देशक समेत हुन्।

उनले १० रेस्टुरेन्टहरू सहित विभिन्न क्षेत्रका व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा रहेका छन्। उनको व्यावसायिक कुशलता र अनुभवले संघलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

यस महाधिवेशनले संस्थागत एकताको उदाहरण पनि प्रस्तुत गरेको छ। नेतृत्व चयनका क्रममा अर्का प्रत्यासी एवं सहयात्री मदन दवाडीले आपसी सहमति र संस्थाको हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएर एकताको वातावरण निर्माण गरेका थिए।

दवाडीले प्रदर्शन गरेको उच्च भावना र त्यागको यतिबेला बेल्जियमस्थित नेपाली समुदायमा विशेष चर्चा र प्रशंसा भइरहेको छ। एकताको यही भावनालाई आत्मसाथ गर्दै महासचिवको महत्त्वपूर्ण जिम्मेवारी भुवन सुवेदीले प्राप्त गरेका छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की निर्वाचित भए। त्यसैगरी, सचिवमा दिपेश सुवेदी, महिला सचिवमा रिचा गुरुङ, कोषाध्यक्षमा राज पुरी र सह-कोषाध्यक्षमा जितेन्द्र केसी निर्वाचित भए। कार्यसमिति सदस्यहरूमा देबु श्रेष्ठ (लुभेन) र उमेश घिमिरे (एन्तवेरपेन) रहेका छन् भने खुला सदस्यहरूमा राजु थापा, भरत जंग क्षेत्री, कुल बहादुर कार्की र सरोज आचार्यले जिम्मेवारी पाए।

नवनिर्वाचित कार्यसमितिले बेल्जियममा रहेका नेपाली व्यवसायीहरूको हकहितको संरक्षण गर्ने, व्यावसायिक सुरक्षालाई थप सुदृढ बनाउने र समग्र नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। व्यावसायिक क्षेत्रका अनुभवी व्यक्तित्वहरूको नेतृत्व र युवा जोसको सम्मिश्रणले आगामी दिनमा संस्थाले नयाँ आयाम थप्ने विश्वास बेल्जियमवासी नेपाली समुदायले लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *