भारतका लागि अमेरिकी राजदूत काठमाडौं आउँदै
काठमाडाैं। अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमणको सिलसिलालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज काठमाडौं आइपुग्दैछन्।
दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको महत्त्वपूर्ण नेपाल भ्रमण लगत्तै हुन लागेको गोरको यो भ्रमणलाई कूटनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
विशेष दूत गोरको यस भ्रमणले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र आपसी हितका विविध पक्षमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
काठमाडौंमा रहँदा विशेष दूत गोरले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरी दुई देशबीचको आर्थिक सहयोग, पूर्वाधार विकास र क्षेत्रीय सुरक्षाका विषयमा गहन छलफल गर्ने कार्यक्रम छ।
विशेषगरी नेपालको वर्तमान आर्थिक अवस्था र अमेरिकी वैदेशिक सहायताका परियोजनाहरूका बारेमा अर्थमन्त्रीसँगको भेट केन्द्रित हुने बताइएको छ। यद्यपि, प्रधानमन्त्री बालेन शाहको पूर्व-आधिकारिक प्रतिबद्धता र कार्यव्यस्तताका कारण यो भ्रमणमा विशेष दूत गोर र प्रधानमन्त्रीबीचको भेटघाट भने तय गरिएको छैन।
राजनीतिक भेटघाटबाहेक विशेष दूत गोरले नेपालको प्राकृतिक सौन्दर्य र जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष जानकारी लिन सगरमाथा क्षेत्रको समेत भ्रमण गर्नेछन्। विश्वको सर्वोच्च शिखर वरपरको वातावरणीय प्रभाव र नेपालले भोगिरहेका जलवायुजन्य चुनौतीहरूलाई बुझ्न यो भ्रमण महत्त्वपूर्ण हुने ठानिएको छ।
उच्चपदस्थ अमेरिकी अधिकारीहरूको यो बाक्लो भ्रमणले अमेरिकाको विदेश नीतिमा नेपालको रणनीतिक महत्त्व बढ्दै गएको संकेत गरेको छ। यस भ्रमणले दुई देशबीचको दशकौँ पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा हुने सहकार्यको मार्गचित्र स्पष्ट पार्ने विश्वास लिइएको छ।







डिसी नेपाल







Facebook Comment