आईपीएल: गुजरात टाइटन्सको सानदार जित, रोयल च्यालेन्जर्स बेंगलुरु पराजित

डिसी नेपाल
१८ वैशाख २०८३ ७:१८

काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक प्रतिस्पर्धामा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) माथि सानदार जित दर्ता गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा बिहीबार राति भएको खेलमा गुजरातले बेंगलुरुलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पाँचौँ जित निकालेको हो।

टस जितेर पहिले बलिङ रोजेको गुजरातले कसिलो बलिङ गरेपछि आरसीबीले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १५५ रनको सामान्य योगफल तयार पारेको थियो। आरसीबीका लागि विराट कोहलीले आक्रामक सुरुवात गर्दै एकै ओभरमा ५ चौका प्रहार गरे पनि उनी २८ रनमा पेभेलियन फर्किए।

देवदत्त पडिक्कलले सर्वाधिक ४० रन र कप्तान रजत पाटीदारले १९ रनको योगदान दिए पनि मध्यक्रम चल्न नसक्दा आरसीबी ठूलो स्कोर बनाउन असफल भयो। गुजरातका लागि जेसन होल्डर र अर्शद खानले घातक बलिङ गर्दै आरसीबीको ब्याटिङ लाइनलाई धराशायी बनाएका थिए।

१५६ रनको लक्ष्य पछ्याएको गुजरातले निकै आक्रामक सुरुवात गर्‍यो। कप्तान शुभमन गिलले मात्र १८ बलमा ४३ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। उनलाई जोस बटलरले १९ बलमा ३९ रन बनाएर राम्रो साथ दिए।

यी दुई ओपनरले पहिलो विकेटका लागि विस्फोटक साझेदारी गरेपछि गुजरातको जित सहज बनेको थियो। यद्यपि, आरसीबीका बलर भुवनेश्वर कुमारले ३ विकेट लिएर केही दबाब सिर्जना गर्ने प्रयास गरे पनि राहुल तेवाटिया र राशिद खानले अन्त्यमा टोलीलाई सम्हाल्दै १५.५ ओभरमै जित दिलाए।

यो जितसँगै गुजरात टाइटन्स १० अंकसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने आरसीबीले हारका बाबजुद दोस्रो स्थान कायम राखेको छ। खेलमा उत्कृष्ट बलिङ र महत्वपूर्ण क्याच लिएका गुजरातका जेसन होल्डर ‘प्लेयर अफ द म्याच’ घोषित भए। यो हारले आरसीबीको नेट रनरेटमा केही गिरावट आएको छ भने गुजरातका लागि प्लेअफको सम्भावना बलियो बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *