समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न अल्टिमेटम, अटेर गरे कानुनी कारबाही हुने

डिसी नेपाल
२२ वैशाख २०८३ १४:२८

काठमाडाैं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि नतिर्ने ऋणीहरूलाई तत्काल बक्यौता बुझाउन कडा ताकेता गरेको छ।

समितिले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै समस्याग्रस्त घोषित सहकारीका ऋणीहरूलाई साँवा, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिएको हो।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीहरूको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीको प्रक्रियालाई प्रभावकारी बनाउन समितिले यो कदम चालेको हो।

वर्षौँदेखि बचतकर्ताको रकम फिर्ता हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै ऋणीहरूबाट असुल हुन बाँकी रकम संकलन गरी बचत फिर्ता गर्ने समितिको मुख्य उद्देश्य रहेको छ। यस प्रक्रियामा असहयोग गर्ने र समयमै कर्जा नतिर्ने ऋणीहरूका कारण हजारौँ सर्वसाधारणको बचत जोखिममा परेको समितिको ठहर छ।

समितिले ऋणी सदस्यहरूका साथै सम्बन्धित सहकारीका सञ्चालक, व्यवस्थापक र जमानीकर्ताहरूलाई समेत तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न आह्वान गरेको छ।

तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने वा कर्जा भुक्तानी नगर्नेहरूलाई प्रचलित कानुनबमोजिम जायजेथा रोक्का, कालोसूचीमा समावेश तथा अन्य कडा कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ। यसअघि पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गर्नेहरूका विरुद्ध अब समितिले कडा नीति अख्तियार गर्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *