हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति: श्रम संस्कृति पार्टीमा सुदन ‘वरिष्ठ नेता’ बन्ने

डिसी नेपाल
२५ वैशाख २०८३ ७:४०

काठमाडौँ। नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा एक नयाँ ध्रुवीकरण देखिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री एवं चर्चित नेता सुदन किरातीबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ। लामो समयदेखि विभिन्न चरणमा भइरहेको सघन छलफलले गएराति अन्तिम रूप लिएसँगै दुई नेताबीच सहकार्यको बाटो खुलेको हो।

सहमतिको प्रारम्भिक खाका अनुसार सुदन किरातीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने तय भएको छ। उनीहरूबीच सांगठनिक एकताको सहमति भए तापनि गहन वैचारिक र सैद्धान्तिक विषयहरूमा भने अझै छलफल जारी रहेको बुझिएको छ।

यस एकतालाई औपचारिक रूप दिन र विस्तृत जानकारी सार्वजनिक गर्न आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको छ। सुदन किरातीका सहयोगी हेमन्त किरातीले पत्रकार सम्मेलनमार्फत एकताका आधार र आगामी कार्यदिशा स्पष्ट पारिने जानकारी दिएका छन्।

सुदनको राजनीतिक उतारचढाव

भोजपुरका प्रभावशाली नेता एवं पूर्व पर्यटनमन्त्री सुदन किरातीको राजनीतिक यात्रा पछिल्लो समय निकै उतारचढावपूर्ण देखिएको छ।

माओवादी आन्दोलनबाट उदाएका किराती, तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता भई ‘नेपाल कम्युनिस्ट पार्टी’ बनेपछि असन्तुष्ट बनेका थिए। त्यसपछि उनी जनार्दन शर्माको नेतृत्वमा गठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भएका थिए।

प्रलोपामा पाँच सदस्यीय अध्यक्ष परिषद्को सदस्य रहेका किरातीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलगत्तै उक्त पार्टीको साधारण सदस्यतासमेत त्यागेको घोषणा गरेका थिए।

निर्वाचनपछि स्वतन्त्र राजनीतिक हैसियतमा रहेका किराती र धरानका मेयरसमेत रहेका हर्क साम्पाङबीचको यो नयाँ समीकरणले विशेष गरी पूर्वी नेपाल र वैकल्पिक राजनीतिको धारमा नयाँ तरङ्ग पैदा गर्ने अनुमान गरिएको छ।

आजको पत्रकार सम्मेलनपछि दुई नेताको साझा राजनीतिक एजेन्डा र श्रम संस्कृति पार्टीको आगामी रणनीति थप प्रष्ट हुने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *