नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त, २०८३ फागुनभित्र महाधिवेशन गर्नुपर्ने
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा मीना खरेललाई नियुक्त गरेका छन्।
म्याद समाप्त भई स्वतः विघटन भएको संघलाई पुनर्गठन गर्दै गतिशीलता दिन सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम खरेललाई यो जिम्मेवारी सुम्पिएका हुन्।
नवनियुक्त अध्यक्ष खरेललाई १७ बुँदे विस्तृत कार्यादेश र कार्यविवरणसहित निश्चित समयभित्र महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ।
निर्णयअनुसार नयाँ नेतृत्वले आगामी २०८३ जेठ १५ गतेभित्र सबै क्लस्टरको समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्नेछ। संगठनलाई मजबुत बनाउन आवश्यकता अनुसार पदाधिकारी चयन र विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार समेत अध्यक्षलाई दिइएको छ।
त्यसैगरी, तल्लो तहका संरचनाहरूलाई व्यवस्थित बनाउन रिक्त रहेका वा पुनर्गठन गर्नुपर्ने समितिहरूलाई २०८३ साउन मसान्तभित्र पूर्णता दिई अधिवेशन आयोजक समिति गठन गर्न निर्देशन दिइएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नवगठित महिला संघलाई २०८३ फागुन १५ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व हस्तान्तरण गर्ने कार्यादेश तोकिएको छ। लामो समयदेखि तदर्थ अवस्थामा रहेको महिला संघले नयाँ नेतृत्व पाएसँगै कांग्रेसको महिला राजनीतिमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।








डिसी नेपाल







Facebook Comment