सत्ता कब्जाको दिशामा सरकार अघि बढ्यो : पूर्व महान्यायाधिवक्ता बडाल

डिसी नेपाल
२५ वैशाख २०८३ २०:१३

काठमाडौं। पूर्वमहान्याधिवक्ता रमेश बडालले वर्तमान सरकार सत्ता कब्जाको दिशातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।

नेपाल बार एसोसिएसनको संवैधानिक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार स्थापित संयन्त्रलाई कमजोर बनाउने बाटोमा लागेको टिप्पणी गरे।

उनले विगतमा सरकार परिवर्तन भए पनि राज्य सञ्चालनको विधि र संस्थागत निरन्तरता कायम रहने गरेको उल्लेख गर्दै अहिले भने परिस्थिति फरक देखिएको बताए।

उनले भने, ‘निर्वाचन भयो नयाँ सरकार बन्यो। नयाँ सरकार बनिसकेपछि अब धेरै कामहरु थिए होलान् राम्रो पक्षमा जाने, तर सरकार स्थापित संयन्त्रलाई भत्काउने बाटोतिर लाग्यो। पहिला राजनीतिक नेतृत्वमा मात्रै परिवर्तन हुन्थ्यो, यसभन्दा अगाडि सरकार परिवर्तन भए, सरकार मात्र परिवर्तन भएको होइन सत्ता नै परिवर्तन भएको छ। वि.स.२०६३।०६३ को जनआन्दोलन पछाडि, राजतन्त्र समाप्त गरेर गणतन्त्र स्थापना गरिएको हो। गणतन्त्र स्थापना हुँदाखेरि धेरै कुराहरुलाई त्यतिखेर ध्वस्त पारिएको थिएन। जुन काम अहिले प्रारम्भ गरिएको छ।’

उनका अनुसार २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भए पनि त्यसबेला राज्यका सबै संरचना ध्वस्त पार्ने प्रयास गरिएको थिएन। तर अहिले सरकारले स्थापित संयन्त्रमाथि हस्तक्षेप गर्न खोजेको उनको आरोप छ।

बडालले वर्तमान अवस्थामा ‘सत्ता कब्जा’ को प्रवृत्ति देखिएको दाबी गर्दै प्रशासनिक संयन्त्र र ब्यूरोक्रेसीलाई समेत राजनीतिक प्रभावमा चलाउन खोजिएको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार यत्रतत्र सर्वत्र घण्टीकरण गरिएको टिप्पणी गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *