बेलायतको निर्वाचनमा नेपालीको उचाइ: रानाभाट दम्पतीसहित आधा दर्जन बढी नेपाली मूलका उम्मेदवार विजयी

डिसी नेपाल
२६ वैशाख २०८३ ७:३०

लन्डन। बेलायतमा हालै सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूले उल्लेख्य सफलता हासिल गरेका छन्। लन्डनको रोयल ग्रीनबीच बरोअन्तर्गत ‘प्लमस्टेड एन्ड ग्लिन्डन’ वार्डबाट लेबर पार्टीका तर्फबाट पूर्वमेयर जित रानाभाट पुनः काउन्सिलरमा निर्वाचित भएका छन्।

उनले १ हजार ६१० मत प्राप्त गरी आफ्नो सिट सुरक्षित गरेका हुन्। सोही बरोको एबिउड वार्डबाट उनकी पत्नी गौमाया गुरुङ पनि १ हजार २९२ मतका साथ पहिलोपटक काउन्सिलर पदमा विजयी भएकी छन्। रानाभाट दम्पती दुवैले लेबर पार्टीको प्रतिनिधित्व गर्दै विजय हासिल गरेसँगै बेलायती राजनीतिमा नेपाली परिवारको सक्रियता र प्रभाव थप मजबुत देखिएको छ।

त्यसैगरी, अल्डरसटको रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डबाट कन्जरभेटिभ पार्टीका जीवनारायण बेल्वासे ८९१ मतसहित दोस्रो पटक निर्वाचित भएका छन् भने सोही बरोको वेलिङटन वार्डबाट पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५५१ मतका साथ काउन्सिलर बनेका छन्।

रेडिङ बरोको ब्याटल वार्डबाट लेबर पार्टीकी प्रतिक्षा गुरुङ १ हजार १८० मतसहित विजयी हुँदै रेडिङ बरोमा नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलरको कीर्तिमान रच्न सफल भएका छन्। उता लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट कन्जरभेटिभ पार्टीका लक्ष्य गुरुङ १ हजार ९५१ मतका साथ तेस्रो पटक काउन्सिलरमा निर्वाचित भएका छन्।

समग्र निर्वाचन नतिजालाई हेर्दा बेलायतको सत्तारुढ लेबर पार्टीलाई यसपटक ठूलो धक्का लागेको छ। शुक्रबार मध्यरातिसम्म प्राप्त १३१ काउन्सिलको नतिजाअनुसार नाइजल फराज नेतृत्वको रिफर्म युकेले १ हजार ४४३ सिट जित्दै अप्रत्यासित सफलता हात पारेको छ।

दोस्रो स्थानमा खुम्चिएको लेबरले ९५९ सिट मात्र जितेको छ भने लिब्डेमले ८३४ र कन्जरभेटिभले ७७३ सिटमा चित्त बुझाएका छन्। सत्तारुढ लेबरले अघिल्लो निर्वाचनको तुलनामा करिब १ हजार ३९५ सिट गुमाउँदा अधिकांश स्थानमा रिफर्म युकेले आफ्नो वर्चस्व कायम गरेको छ। यस निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *