विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा तलमाथि हुन थाले मानव समाज भयभित हुनथाल्छ : राष्ट्रपति

डिसी नेपाल
२६ वैशाख २०८३ १६:१८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताएका छन्। राष्ट्रपति पौडेलले कानुन दिवस २०८३ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।

विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकुल प्रभावले मानव समाज भयभित हुन थाल्दछ भन्ने पनि हामीले बिर्सन हुन्न भन्ने उनको भनाई थियो।

‘त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार र उपचार दुबै हुन् भनेर सम्झने र बुझ्ने पुनित दिनलाई नै कानून दिवसको रुपमा मनाईन्छ, कानून दिवसको यही मर्मलाई आत्मसात गर्न सकेमात्र आत्मनिर्भर र सम्वृद्ध नेपालको कल्पना गर्न सकिन्छ’, उनले भने।

राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानूनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिवद्ध प्रणालीको व्यवस्था गरेको बताए।

साथै, उनले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्धाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरे।

कार्यक्रममा उपराष्टपति रामसहायप्रसाद यादव, कायममुकाय प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डाेलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *