देउवा दम्पतीविरुद्ध रेड नोटिसको तयारी: इन्टरपोलको पत्रपछि प्रहरीले पठायो थप प्रमाण

डिसी नेपाल
२७ वैशाख २०८३ ८:०७

काठमाडाैं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध ‘रेड नोटिस’ जारी गराउने प्रक्रियाले नयाँ मोड लिएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले गत २४ चैतमा पक्राउ पुर्जी जारी गरेपछि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले इन्टरपोललाई पत्राचार गरेको हो।

इन्टरपोलले रेड नोटिस जारी गर्न केही अतिरिक्त कागजातहरू माग गरेपछि प्रहरी प्रधान कार्यालयले हालै ती विवरणहरू इमेलमार्फत पठाएको स्रोतले जनाएको छ।

गत १४ फागुनमा उपचारको बहाना बनाएर सिङ्गापुर प्रस्थान गरेका देउवा दम्पती त्यसयता नेपाल फर्केका छैनन्। उनीहरू सिङ्गापुरबाट ७ चैतमा हङकङ गएको र हाल पनि त्यहीँ रहेको आशंका गरिएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा देश छाडेका उनीहरूविरुद्ध अदालतको पक्राउ पुर्जी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा कानुनी घेरा कसिलो बनाइएको हो। यसअघि पनि आन्दोलनका क्रममा विदेश गएर फर्केका उनीहरू यसपटक भने पक्राउ पुर्जी जारी भएपछि उतै रोकिएका हुन्।

इन्टरपोलले रेड नोटिस जारी गरेमा यसका १९६ सदस्य राष्ट्रहरूले देउवा दम्पतीलाई जहाँ भेटे पनि पक्राउ गर्न सक्नेछन्।

रेड नोटिस जारी भएपछि उनीहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया मार्फत नेपाल ल्याउने बाटो खुल्नेछ। एनसीबीले पठाएका पछिल्ला कागजातहरूको अध्ययनपछि इन्टरपोलले उनीहरूलाई ‘वाण्टेड’ सूचीमा राख्दै रेड नोटिस जारी गर्ने सम्भावना बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *