बालेन सरकारसंग आशावादी जनकपुरवासी, अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुनेमा विश्वस्त

डिसी नेपाल
३१ वैशाख २०८३ १६:१८

जनकपुर। वर्षौंदेखि निर्माणाधिन अवस्थामा रहेको राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंङ्गशाला कहिले सम्पन्न हुन्छ भन्ने प्रश्न धनुषावासीले प्रत्येक दिन सोध्ने गर्छन। मधेश प्रदेशको राजधानी एवम राजनीतिक परिवर्तनको जडको रुपमा रहेको जनकपुरमा दैनिक कुनै न कुनै मन्त्री र नेता आउने गर्छन्। उनीहरूसँग जनकपुरवासीले एउटै प्रश्न गर्छन–‘रंङ्गशाला कहिले निर्माण हुन्छ ?’

पटक पटक स्थानीय सरकार, केन्द्र सरकार र प्रदेश सरकार फेरिए पनि रंङ्गशाला निर्माणको सपना पूरा हुन सकेको छैन्। हुनत उपमहानगरपालिकाले रंगशाला सुरक्षित राख्न तारबार गरेको छ तर यो बाहेक अरु कुनै भौतिक निर्माणको काम अगाडि बढ्न सकेको छैन।

बुधबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि रंङ्गशाला निर्माण स्थलको अवलोकन गरे। स्थानीय खेलाडी र विभिन्न विद्यालयका विद्यार्थीहरू खेल अभ्यास गरिरहेका थिए। मन्त्री पोखरेलले अवलोकन गरिरहँदा उपस्थित स्थानीयवासी र खेलाडीहरूको एउटै प्रश्न थियो–‘रंङ्गशाला कहिले सम्पन्न हुन्छ ?’

मन्त्री पोखरेलले, राज्यले पहिलादेखि ध्यान नदिएका कारण सम्भावना बोकेको रंङ्गशाला निर्माणाधिन अवथामा रहेको बताए। उनले काठमान्डौ पुगेर रंङ्गशाला निर्माण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको अनुदान रकम कहाँ पुगेको छ भन्ने जानकारी लिनुका साथै चाँडै काम अगाडि बढाउने आश्वासन दिए।

हुन त राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको नेतृत्वमा बनेको अहिलेको सरकारसंग धनुषावासी मात्र नभई सम्पूर्ण नेपालीले ने परिवर्तन र विकासको आशा राखेको छ। तर यो आशा पूरा हुने हो की होइन, त्यो त समयले बताउँछ। प्रतिनिधि सभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट विजय भएका रास्वपाका सांसद मनिष झाले आफ्नो ऐजेन्डामै रंगशाला निर्माण गर्ने भनेकामा उनको जितले थप आशा पलाएको मधेश प्रदेश क्यानका उपाध्यक्ष रोशन सिंह बताउँछन्।

उनले हालको सरकारले बोलेर भन्दा गरेर देखाउने भनेकाले अहिलेसम्म सरकारले गर्दै आएको काम अनुसार जनकपुरधाममा पनि रंगशाला निर्माण हुनेमा आशावादी रहेको बताए।

उपाध्यक्ष सिंहले रास्वपालाई मधेश प्रदेशले सबैभन्दा बढि सांसद दिएकाले मधेश प्रदेशमा विकास हुनेमा सम्पूर्ण मधेशवासी नै आशावादी रहेको बताए।
वि.सं २०७५ सालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउँदा एकसय करोड रुपैयाँ जनकपुरधामको विकासमा सहयोग गर्ने घोषणा गरेका थिए।

उक्त रकम राम जानकी रंगशाला निर्माणमा खर्च गर्ने निर्णय भएपनि हालसम्म विभिन्न प्राविधिक र राजनीतिक अडचनका कारण अलपत्र परेको छ। डिपीआर लगायतका अन्य प्राविधिक कार्यहरू सम्पन्न भइसकेपनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन।

जेनजी आन्दोलन पश्चात निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारका बेला पनि मन्त्री कुलमान घिसिंङले अनुगमन गरेर रंङ्गशालाको कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए।

रास्वपा नेतृत्वको सरकारले रंङ्गशाला निर्माण सम्पन्न गर्नसके धनुषावासीको लागि मात्र नभएर यो सम्पूर्ण प्रदेशवासीका लागि गौरवको विषय हुने स्थानीयवासीहरू बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *