ओरेन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते नामावली सार्वजनिक, ऋण चुक्ता नगरे कानुनी कारबाही हुने
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल को-अपरेटिभका ऋणीहरूमाथि कडाइ सुरु गरेको छ।
कार्यालयले सो सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने २ सय ८४ जना ऋणीहरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गरेको हो। समस्याग्रस्त घोषित यस सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व फरफारक गर्ने प्रक्रिया अन्तर्गत ऋणीहरूलाई अन्तिम मौका दिँदै नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ।
समितिको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ती सबै ऋणीहरूलाई यथाशीघ्र आफूले लिएको ऋणको साँवा र ब्याज चुक्ता गर्न निर्देशन दिएको छ। तोकिएको समयभित्र ऋण राफसाफ नगरेमा कानुन बमोजिम कडा कारबाही अघि बढाइने र सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी समेत दिइएको छ।
लामो समयदेखि निक्षेपकर्ताको बचत फिर्ता हुन नसकिरहेको अवस्थामा ऋणीहरूबाट रकम संकलन गरेर बचतकर्ताको रकम फिर्ता गर्ने योजना अनुरूप समितिले यो कदम चालेको हो। यस प्रक्रियाले सहकारीका पीडित बचतकर्ताहरूमा केही आशा जगाएको छ भने ऋण लिएर नतिर्नेहरूमाथि कानुनी दबाब बढेको छ।








डिसी नेपाल







Facebook Comment