नेपाली पर्यटनमा नवीनता र विविधीकरणको खाँचो: आध्यात्मिक पर्यटनलाई प्राथमिकता दिनुपर्नेमा जोड

डिसी नेपाल
१ जेठ २०८३ १२:०४

काठमाडाैं। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले नेपालको पर्यटन कानुनलाई आधुनिक र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिएकी छन्।

‘हेलो सांसद’ कार्यक्रम अन्तर्गत पर्यटन कानुन संशोधन विधेयक २०८१ का विषयमा सरोकारवालाहरूसँग भएको अन्तरक्रियामा बोल्दै उनले प्रस्तावित विधेयकलाई थप परिष्कृत बनाउन समितिले गम्भीर अध्ययन र सुक्ष्म छलफल गरिरहेको जानकारी दिइन्।

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा छलफलको पर्खाइमा रहेको यो विधेयक छिट्टै समितिमा आउने र यसका प्रत्येक दफाहरूमा दफावार छलफल गरी अन्तिम रूप दिइने उनको भनाइ थियो।

सभापति उदासले हालको विधेयकमा धेरै महत्वपूर्ण विषयहरू छुटेको उल्लेख गर्दै सरोकारवालाहरूले दिएका सुझावहरूलाई समेटेर कानुनलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरिन्।

नेपालको पर्यटन क्षेत्रलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धी बनाउनका लागि पुरानो र परम्परागत सोचबाट बाहिर निस्कनुपर्ने उनको धारणा थियो।

उनले पर्यटनको विविधीकरणमा जोड दिँदै नेपालको मौलिकता र सम्भावना बोकेका आध्यात्मिक पर्यटन जस्ता नयाँ आयामहरूलाई विशेष प्राथमिकतामा राखेर कानुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्।

पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट नियामक ढाँचा र दिशा निर्देश गर्ने बलियो दस्तावेजको अभाव रहेको भन्दै उनले नयाँ ऐनले ती रिक्तताहरूलाई पूर्ति गर्ने विश्वास व्यक्त गरिन्।

पर्यटनलाई केवल संख्यामा मात्र सीमित नगरी मापनयोग्य र राष्ट्रिय गौरवको विषय बनाउन नवीन सोचका साथ अघि बढ्नुपर्ने उनको तर्क थियो। यस कार्यक्रमले सांसद र पर्यटन क्षेत्रका विज्ञहरूबीच सिधा संवादको वातावरण सिर्जना गरेको र यसबाट प्राप्त निष्कर्षले कानुन निर्माण प्रक्रियामा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *