चन्द्रपुर अस्पतालमा पहिलो पटक नवजात शिशुको फोक्सोको जटिल उपचार सफल

डिसी नेपाल
५ जेठ २०८३ ७:३९

रौतहट। रौतहट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठूलो र ऐतिहासिक सफलता मिलेको छ। जिल्लाकै अग्रणी स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा पहिलो पटक नवजात शिशुको फोक्सोको विकास नभएको जटिल अवस्थामा गरिने विशेष उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।

समय अगावै (प्रि-मैच्योर) जन्मिएका वा जन्मनासाथ फोक्सोको पर्याप्त विकास नभएर गम्भीर अवस्थामा पुगेका नवजात शिशुका लागि आवश्यक पर्ने अत्यन्तै संवेदनशील र जटिल ‘सर्फेक्टेन्ट एडमिनिस्ट्रेशन प्रोसिजर’ चन्द्रपुर अस्पतालमा पहिलो पटक सफल भएको हो। अस्पतालका प्रख्यात तथा अनुभवी बालरोग विशेषज्ञ डा. श्याम बाबु साहको प्रत्यक्ष नेतृत्वमा यो उपचार प्रक्रिया सम्पन्न भएको छ।

जन्मिएलगत्तै शिशुले श्वास फेर्न गम्भीर कठिनाइ भोगिरहेको र फोक्सो खुम्चिएको अवस्थामा डा. साहसहितको दक्ष पेडियाट्रिक (बालरोग) टोलीले तत्कालै उपचार सुरु गरेको अस्पतालका प्रमुख डा. सुवास चौधरीले जानकारी दिए।

उनका अनुसार नवजात शिशुको फोक्सोलाई पूर्ण रूपमा खुलाउन र श्वासप्रश्वास प्रणालीलाई सामान्य अवस्थामा फर्काउन यो कृत्रिम तरल पदार्थ (सर्फेक्टेन्ट) लाई सिधै शिशुको श्वास नलीमार्फत फोक्सोमा पठाउनुपर्ने हुन्छ।

यो अत्यन्तै संवेदनशील प्रक्रिया मानिन्छ, जसमा थोरै मात्र असावधानी वा ढिलाइ भएमा शिशुको ज्यान जान सक्ने उच्च जोखिम रहन्छ। तर, डा. साह र अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (NICU) को टिमको अथक प्रयासका कारण यो उपचार पूर्ण रूपमा सफल भएको छ।

यस ऐतिहासिक र सफल उपचार पश्चात चन्द्रपुर अस्पताल प्रशासनले बालरोग विशेषज्ञ डा. श्याम बाबु साह र उपचारमा अहोरात्र खटिएका सम्पूर्ण नर्सिङ स्टाफ तथा पेडियाट्रिक टिमप्रति विशेष धन्यवाद एवं हार्दिक आभार प्रकट गरेको छ। अस्पतालले यस कार्यलाई आफ्नो टिमको सामूहिक दृढता र उत्कृष्ट नर्सिङ केयरको सुखद परिणाम भएको बताएको छ।

यसअघि रौतहट जिल्लामा यस्तो जटिल समस्या भएका नवजात शिशुहरू फेला पर्दा थप उपचारका लागि वीरगन्ज, चितवन वा काठमाडौँका महँगा र टाढाका अस्पतालहरूमा रेफर गर्नुपर्ने बाध्यात्मक अवस्था थियो। जसका कारण समयमै उपचार नपाएर बाटोमै शिशुको ज्यान जाने जोखिम र अभिभावकले ठूलो आर्थिक भार बेहोर्नुपर्ने बाध्यता थियो।

चन्द्रपुर अस्पतालमा यो सेवा सफलतापूर्वक सुरुवात भएसँगै जिल्लामै नवजात शिशु उपचार सेवामा नयाँ आशा र ठूलो विश्वास थपेको छ। अब स्थानीय स्तरमै जटिल प्रकृतिका शिशुहरूको ज्यान जोगाउन सकिने सुनिश्चितता बढेको छ, जसले समग्र रौतहट र आसपासका जिल्लाका सर्वसाधारणलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *