मधेशका गृहमन्त्री महतोद्वारा सर्लाही अदालत र कारागारको अनुगमन
सर्लाही । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाही जिल्ला अदालत र कारागारको अनुगमन गरेका छन् । सोमबार गरिएको अनुगमनका क्रममा मन्त्री महतोले अदालतको सेवा प्रवाह, प्रशासनिक अवस्था, भौतिक पूर्वाधार तथा कारागारको सुरक्षा व्यवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनले कारागारभित्र रहेका कैदी बन्दीलाई उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत सुविधाको अवस्थाबारे समेत चासो व्यक्त गरेका हुन् । अनुगमनका क्रममा कारागार प्रशासनले क्षमताभन्दा बढी कैदी बन्दी राख्नुपरेको, पर्याप्त भौतिक संरचना अभाव रहेको तथा व्यवस्थापनमा विभिन्न समस्या रहेको जानकारी मन्त्रीसमक्ष गराएको थियो ।
अदालत प्रशासनले पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन स्रोत साधनको अभाव रहेको उल्लेख गरेको बताइएको छ । मन्त्री महतोले न्यायिक सेवा नागरिकमैत्री र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै अदालत तथा कारागार सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले आवश्यक समन्वय र स्रोत व्यवस्थापनका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कैदी बन्दीप्रति कानुनअनुसार मानवीय व्यवहार गर्नुपर्ने उल्लेख गर्दै मन्त्री महतोले आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।











डिसी नेपाल







Facebook Comment