लघुकथा : चतुर्याइँ
“सुराकी लगाउँनु परेन ?”
दिनहुँ काम नगरी खान पुग्दैन। बिहान बेलुका साहुको घरमा मजदुरी गर्नु पर्छ। त्यहीँबाट आएको निमेकले गुजारा चल्छ। कमैयाहरूको जमात छ, सबै काममा जाने आउँने गर्छन्। दिन सामान्य तरिकाले व्यतीत भएको देखिन्थ्यो।
गाउँ शान्त, स्वच्छ अनि रमाइलो छ। खोलाको मूलको पानी हरियाली, उकाली ओराली, भिराला कान्लाले जो कोहीलाई लोभ्याउँने गर्छ। त्यहाँका मान्छे सोझा छन्, एकआपसमा मेलमिलाप पनि बेजोडको छ।
महिना मर्याे, सदा झैं पारिश्रमिक बुझे तर हिसाबमा चाँसो कसैले देखाएनन् ? एकले मुख खोल्यो, “काम अनुसारको ज्याला पुगेन, किन?”
मजदुरहरूले सहमति जनाए, “सबैले होमा होको नारा लगाए, उसैलाई अगाडि सारे। सामुन्ने बोल्ने साहस कसैमा थिएन ?” उनीहरू खुसी थिए।
उसैलाई अगुवा माने र भने, ”अबदेखि तिमीलाई हामी साथ दिन्छौं, बस् मजदुरको हक हितका लागि बोल्नु पर्छ भन्दै नेता बनाए।”
अर्को दाहिने हात बन्यो, गुप्तचरको भूमिका निभायो। उसले भरोसा दिलाउँदै भन्यो, “केही समय धैर्य गरौं, नआतिऔं, अवश्य न्याय हुन्छ।” मजदुरलाई आश्वासन दियो।
एकले सत्य तथ्य बोल्न थाल्यो। युनियन बनायो, हड्ताल गर्यो, काम ठप्प पार्याे। ऊ हर्ताकर्ता बन्यो, साहुको नजरमा पर्याे।
साहुले प्रलोभनको जालो फ्याक्यो, लोभ्भियो। मजदुरलाई छल गर्याे, विश्वासघात भयो, साहुसँगै मिल्यो अनि शान्त रहन थाल्यो।
निरन्तर साथ दिएको अर्कोले सुइँको पायो र खबर ल्यायो। ऊ निराश भयो अनि मलिन हुँदै बोल्यो, “सामान्तवादीले ल्याएको भयानक रोगले सिकार भएछ नाइके, डिभाइड एन्ड रूलको, धोका नहोला भन्न सकिन्न ?”
लघुकथा : सिस्टम
“ इन्स्पेक्टरलाई धम्की आयो |”
बाटोमा ठूलै भिड जम्मा भयो। अपरिचित युवाहरूको ग्याङ फाइट भएको रहेछ। मान्छेहरू मूकदर्शक बनेका छन्। छुटाउन जाने साहस कसैमा थिएन। युवाहरू तथानाम भन्दै मुख छाडेका छन्। उनीहरूको जोसको अगाडि कसैको केही चलेन।
छुटाउन जानेले नै मुक्का खाएर फर्किएका छन्, झगडाको कारण कसैलाई थाहा छैन ? उपस्थितले पर्ल्याकपुर्लुक एकअर्काको अनुहार हेर्दै अनभिज्ञता जनाएका छन्। भिडबाट ठूलै आवाज आयो, “प्रहरीलाई खबर गर्नु पर्यो, यसरी कहाँ हुन्छ, भर्खरै घटना घट्यो भने को जवाफदेही हुन्छ ?”
सबैले सहमती जनाए। एकले प्रहरीलाई खबर गर्याे, उसले शान्ति सुरक्षाको लागि निवेदन गर्याे। प्रहरीको टोली आयो। दुबै पक्षलाई छुट्टायो अनि सोधखोज गर्याे। आवश्यक अनुसन्धानका लागि लिएर गयो। हिरासतमा राख्यो, प्रक्रिया अगाडि बढायो।
केहीबेरमै दोषी रिहा भए, उनका सहकर्मीले गेटमा खादा,मालाले स्वागत गरे। अंकमाल गरे अनि बडो शानले लिएर गए।
जुन अस्वभाविक थियो, त्यो घटना नजिकैबाट नियाली रहेकी एक महिलाले आश्चार्य चकित हुँदै सोधिन्, “हैन किन, भर्खरको भर्खरै उनी बेकसुर कसरी भए ?”
इन्स्पेक्टरले लाचारी देखाए,शिर झुकाउँदै बोले, “के गर्ने ? उनीहरू ठूलै नेताका मान्छे रहेछन्।”
लघुकथा : आत्मसन्तुष्टि
“घरपरिवार नै बिर्सिएर सामाजसेवा गरेर पुग्छ र ?”
उनी छड्के आँखा तर्दै बोलिन, “घरको काम केही गर्ने होइन ? बिहान उठ्ने बित्तिकै लखरलखर गाउँ डुलेर हुन्छ। परिवार भन्दा समाज पहिला आउने हो। भोलि दु:ख बिमार हुँदा त पहिला परिवार नै उभिनु पर्ने होला, होइन किन कुरा बुझ्नु हुन्न ?” बुढी थकित हुँदै झिझ्झिएको स्वरमा कराइन्।
उनले सुने नसुने झैं गरेर हतारो देखाउँदै भन्दै थिए। “हेरन, कति पटक भएछ फोन आएको ? विवाद परेछ क्या ! मिलाउनु पर्ने भयो। मोबाइलमा कल देखाए, म गए, एकछिनमा आउँछु है भन्दै नम्रता देखाए अनि निस्किए।”
उनी एक्लै फत्फताउँदै काममा लागिन्। भान्सा, भकारोमा अल्झिइन्। छोराछोरी स्कुल पठाइन्। भ्याइनभ्याइ भयो,मनमा अनेक तर्कना खेलाउँदै भनिन्,”यस्तै गरी कसरी चल्छ ?”
बुढाले साइकल शीतलमा राखे, उनी आए। ठट्याउँलो पारामा देखिए, उनको रिस शान्त गर्न अनेक प्रसङ्ग जोड्दै सोधे, “नरिसाउँन बरू भनन्, खानामा के छ ?” उनी शान्त थिए।
उनले विगत कोट्याउँदै भनिन्, “यत्रो वर्ष समाजका लागि काम गर्नु भयो, के पाउँनु भयो ? तादि झन आरोप लागेको बिर्सनु भयो, काम गर्ने कालु मकै खाने भालु भने झै भयो। हैन कहिले मति फिर्छ हजुरको ?” उनले सम्झाउने प्रयत्न गरिन्।
उनी एकछिन सोचमग्न भए अनि गहन हुँदै बोले, “समाजसेवा गर्नु नितान्त निजी कुरा हो, न केही पाउँने आश न गुमाउँने डर, केवल आत्मसन्तुष्टि !” उनी शान्तियुक्त स्वरमा बोले















Facebook Comment