शृङ्गेरी शारदा पीठका उत्तराधिकारी शंकराचार्य श्री विधुशेखर भारतीद्वारा बुढानीलकण्ठमा विशेष पूजा
काठमाडौं।दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले काठमाडौँको बूढानीलकण्ठ मन्दिरमा विशेष पूजाआराधना एवं दर्शन गरेका छन्।
धार्मिक भ्रमणका लागि नेपाल आएका शंकराचार्यले शनिबार बिहान मन्दिर पुगेर सहस्रकमल (हजार वटा कमलको फूल) अर्पण गरी पूजा गरेका हुन्।
मन्दिर परिसरमा पुगेका श्री विधुशेखर भारतीलाई बुढानीलकण्ठ मन्दिरका महन्त १००८ स्वामी निगमानन्दले भव्य स्वागत गरेका थिए।
सो अवसरमा मन्दिरका पुजारी, वैदिक ब्राह्मणहरू र स्थानीय भक्तजनहरूले मङ्गल धुन तथा वैदिक मन्त्रोच्चारणसहित उनको स्वागत गरेका थिए। स्वागत पश्चात् उनले बूढानीलकण्ठको जलकुण्ड परिसरमा धार्मिक विधिपूर्वक विशेष पूजाहरू सम्पन्न गरे।
पूजाआराधनापछि मन्दिर परिसरमा आयोजित विशेष समारोहमा प्रवचन दिँदै शंकराचार्य विधुशेखरले नेपाली जनतामा धर्म र संस्कृतिप्रतिको आस्था अत्यन्तै प्रगाढ रहेको बताए।
वैदिक दर्शनको मूल्य र मान्यतामा आधारित नेपाल र भारतले पूर्वीय दर्शन एवं ज्ञानका माध्यमबाट विश्वकै नेतृत्व गर्न सक्ने सामर्थ्य राख्ने उनको भनाइ थियो।
शृङ्गेरी पीठका उत्तराधिकारी शंकराचार्यको यो नेपाल भ्रमण ऐतिहासिक मानिएको छ। यसअघि वि.सं. २०२२ सालमा शृङ्गेरीका शंकराचार्यले नेपाल भ्रमण गरेका थिए। ठिक ६१ वर्षपछि भएको यस गौरवमय भ्रमणलाई ‘धार्मिक विजय यात्रा नेपाल २०८३’ नाम दिइएको छ।
शारदा पीठ, आद्य शंकराचार्यले हिन्दू धर्मको रक्षा र उत्थानका लागि स्थापना गरेका चार प्रमुख पीठहरूमध्ये पहिलो र जेठो पीठ हो।

सनातन धर्मका सर्वोच्च गुरुका रूपमा पूजनीय शंकराचार्यका उत्तराधिकारीको यो नेपाल आगमन र बूढानीलकण्ठ दर्शनलाई धार्मिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ।
वैदिक सनातन धर्मको उत्थान र संरक्षणका लागि आदि गुरु शंकराचार्यले भारत वर्षका चार कुनामा चारवटा पवित्र पीठहरूको स्थापना गरेका थिए। तीमध्ये दक्षिणको कर्नाटकस्थित चिकमगलुरमा स्थापित ‘श्री शृङ्गेरी शारदा पीठ’ जेठो र अत्यन्त उच्च आदर मानिएको पीठ हो।
यही ऐतिहासिक पीठको गरिमामय परम्परालाई अघि बढाउँदै वर्तमान जगद्गुरु शंकराचार्य श्री भारती तीर्थजी महाराजको निर्देशनमा उत्तराधिकारी श्री विधुशेखर भारतीजी महाराजले आध्यात्मिक अभियानको नेतृत्व गरिरहेका छन्।
सनातन धर्ममा शंकराचार्य परम्परालाई सर्वोच्च गुरु र पथप्रदर्शकका रूपमा पुजिन्छ, जसले आदिकालदेखि नै वैदिक ज्ञान, उपनिषद् र अद्वैत वेदान्तको दर्शनलाई विश्वभर फैलाउने काम गरिरहेको छ।
नेपाल र भारत दुवै देश हिन्दू सनातनी धर्मावलम्बीहरूको बाहुल्यता रहेका राष्ट्र हुन्। यी दुई देशबीचको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक सीमामा मात्र सीमित नभएर त्रेतायुग र द्वापरयुगदेखिको सांस्कृतिक तथा आध्यात्मिक कडीले जोडिएको छ।

नेपाल र भारतको यो सम्बन्धलाई ‘रोटी-बेटी’ को सम्बन्ध मात्र होइन, ‘पूजा-पद्धति र आस्था’ को अटुट सम्बन्धका रूपमा समेत हेरिन्छ। दुवै देशका नागरिकले पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, काशी, बद्रीनाथ र रामेश्वरम जस्ता पावन तीर्थहरूलाई समान आस्थाका साथ पुज्दै आएका छन्। यस प्रकारको धार्मिक र सांस्कृतिक सामीप्यले दुई देशका जनताबीच एकात्मताको भावना जागृत गराएको छ।
नेपाल र शंकराचार्य परम्पराको सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त गहिरो छ। आदि गुरु शंकराचार्यले आफ्नो दिग्विजय यात्राका क्रममा नेपालको भ्रमण गरी पशुपतिनाथ मन्दिरमा बुढानीलकण्ठकै जलकुण्डको पवित्र जलले अभिषेक गर्ने परम्पराको जग बसालेको धार्मिक मान्यता छ।

सोही ऐतिहासिक कडीको निरन्तरता स्वरूप शृङ्गेरी पीठका उत्तराधिकारीको यो बुढानीलकण्ठ आगमनलाई धार्मिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ।
हिन्दू धर्ममा नारायण र शिवलाई अभिन्न रूपमा हेरिने हुनाले पनि पशुपतिनाथका परम्परागत आराध्य र बुढानीलकण्ठका जलशायी भगवान् विष्णुको यो दर्शनले नेपाल-भारतबीचको सांस्कृतिक सेतुलाई अझ बलियो बनाएको छ।
धार्मिक विज्ञहरूका अनुसार, यस्ता उच्च तहका आध्यात्मिक व्यक्तित्वहरूको आगमनले नेपालको धार्मिक पर्यटनको प्रवर्द्धन हुनुका साथै दुवै देशमा रहेका सनातनी युवा पुस्तामा आफ्नो संस्कार र सभ्यताप्रति गौरवबोध गराउन विशेष भूमिका खेल्नेछ।






डिसी नेपाल





Facebook Comment