कविता: नभ-क्यानभासमा लुकामारी

योगी नारायण नाथ
१६ जेठ २०८३ ८:५२

व्योमको नीलो अनि अनन्त शून्यताभित्र,

आज चेतनालाई एकाकार गराउन मन लाग्यो,

चाँदनीको त्यो स्निग्ध, कञ्चन प्रकाशसँगै,

जुन झैं बादलको घुम्टोभित्र लुकामारी खेल्न मन लाग्यो।

श्वेत मेघका मसिना र चञ्चल तरंगहरू बनी,

त्यो सुधाकरको ओजस्वी मुहार ढाकिदिऊँ,

शीतल समीरको सुस्तरी सुस्केरासँगै बग्दै,

अदृश्य र दृश्यको दोसाँधमा हराउन मन लाग्यो।

जहाँ क्षितिजले धर्तीको सुस्केरा सुन्छ,

र नक्षत्रहरूले रातको मौनता बुन्छन्,

त्यही निश्चल र पवित्र ब्रह्माण्डीय सन्नाटामा,

मलाई आफ्नै अस्तित्व पग्लिएको महसुस गर्न मन लाग्यो।

जब थकित रजनीले आफ्नो प्रहर बदल्नेछ,

अनि कुहिरोको ओछ्यानमा शशिको छायाँ ढल्नेछ,

त्यो अलौकिक र कल्पनातित संसर्गमा विलीन हुँदै,

संसारका यी नश्वर बन्धनहरूबाट मुक्त हुन मन लाग्यो।

हो, आज मलाई भौतिकताको धरातल छाडेर,

जुन झैं बादलको ओतभित्र लुकामारी खेल्न मन लाग्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *